विजय गच्छदार र दीप बस्न्यातसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, गच्छदार सांसदबाट स्वतः निलम्बित

ललिता निवास जग्गा अनियमितता  
कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलगायत १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विजय गच्छदार र दीप बस्न्यातसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, गच्छदार सांसदबाट स्वतः निलम्बित

बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हाे । अख्तियारले भ्रष्टचार मुद्दा दायर गरेसँगै गच्छदारको सा‌ंसद पद स्वत निलम्बनमा परेको छ । गच्छदार सुनसरीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

अख्तियारले मुद्दामा पूर्वप्रमुख आयुक्त तथा तत्कालीन भौतिक पूर्वाधार सचिव बस्न्यात, तत्कालीन भौतिक पूर्वाधार मन्त्री गच्छदार, तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र तत्कालीन भूमिसुधार सचिव छविलाल पन्त, हाल जिल्ला न्यायाधीश रहेका तत्कालीन कानुन उपसचिव विनोदकुमार गौतममाथि ९ करोड ६५ लाख विगो मागदाबी गरेको छ।

त्यस्तै पूर्व भूमिसुधार सचिव दिनेशहरि अधिकारी माथि ७ करोड ८ लाख, तत्कालीन मन्त्री चन्द्रदेव जोशीमाथि पनि ७ करोड ८ लाख विगो मागदावी गरिएको छ ।

अख्तियारले मुद्दा दायर गरेका १७५ जनामध्ये ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । ५० जना कुनै न कुनै समयका जग्गाधनी हुन् । ३२ जना मोही तथा हकदार हुन् भने ६० जना सार्वजनिक पदमा भएका व्यक्तिहरु हुन् ।

पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव नेपाल तथा पूर्व मन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेल र तत्कालीन मुख्यसचिव लिलामणि पौडेलविरुद्द भने मुद्दा दायर गरिएको छैन ।

प्रकाशित : माघ २२, २०७६ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?