कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललिता निवासको अनियमिततामा मुद्दा दायर गर्ने अख्तियारको निर्णय 

कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । प्रमुख आयुक्त नविन घिमिरेसहित आयुक्तद्वय डा. गणेशराज जोशी र सावित्री थापा गुरुङ सम्मिलित आयोग बैठकले मुद्दा दायर गर्ने निर्णय गरेको हो । 

ललिता निवासको अनियमिततामा मुद्दा दायर गर्ने अख्तियारको निर्णय 

निर्णयलगत्तै अख्तियारको टोली बुधबार नै मुद्दा दर्ता गर्न विशेष अदालत पुगेको छ । अख्तियार उच्च स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको विवरण अनुसार तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र उनी पछिका चन्द्रदेव जोशीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

त्यसैगरी पूर्व सचिवहरु दीप बस्न्यात, छवीराज पन्त, दिनेशहरि अधिकारीमाथि पनि मुद्दा दायर गर्ने निर्णय भएको छ । बस्न्यात अख्तियारको आयुक्त हुँदै प्रमुख आयुक्त भइसकेका व्यक्ति हुन् । पन्त चुनावी सरकारमा मन्त्री थिए ।

भ्रष्टाचार आरोपको सूचीमा २२ रोपनी जग्गा ‘घुस’ लिएका पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, गृहमन्त्रालयका पूर्वसहसचिव गेहनाथ भण्डारी र उनकी पत्नी भुवनकुमारी चापगाई अनि सासु सोदाकुमारी चापागाई समेत छन् ।

हाल चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतममाथि पनि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको छ । उनी २०६६ सालमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउँदा गलत राय दिएको आरोपमा परेका हुन् ।

ललिता निवासको २ सय ९९ रोपनी जग्गा पञ्चायतकालीन सरकारले अधिग्रहण गरेको थियो । २०४९, ६२, ६७ र ६९ सालमा गरी चारपटक उक्त जग्गा अतिक्रमण भएको व्यक्तिको नाममा दर्ता भएको छ । गैरकानूनी रुपमा व्यक्तिको नाममा दर्ता गरिएको जग्गा करिब १ सय ४० रोपनीभन्दा बढी छ ।

प्रकाशित : माघ २२, २०७६ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?