ललिता निवास अनियमितता : घूस जग्गा आफन्तका नाममा

काठमाडौँ — सरकारले पञ्चायतकालमा अधिग्रहण गरिसकेको ललिता निवासको जग्गा आफ्ना नाममा फिर्ता गराउन सुवर्णशमशेरका सन्तानले जग्गा नै घूस दिएको फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को छानबिनबाट अनियमिततामा संलग्न कर्मचारीले घूसबापत प्राप्त जग्गा आफन्त र नातेदारका नाममा लुकाएको भेटिएको छ । 

ललिता निवास अनियमितता : घूस जग्गा आफन्तका नाममा

पञ्चायतकालमा अधिग्रहण गरेर लिएको जग्गालाई ‘जफत’ गरेको भन्ने अर्थ लगाई डिल्लीबजार मालपोत कार्यालयले २०४९ सालमा दुई चरणमा १ सय १२ रोपनी ४ आना जग्गा राणा परिवारका नाममा फिर्ता गरेको थियो । फिर्ता भएकोमध्ये केही जग्गा ‘बकसपत्र’ गरी राणा परिवारले विभिन्न कार्यालयमा रहेका कर्मचारीको आफन्तका नाममा दिएका थिए । सीआईबीको प्रतिवेदनमा बिचौलिया प्रयोग गरी चार पटकमा ललिता निवासको जग्गा व्यक्तिले हत्याएको उल्लेख छ । त्यस क्रममा पटकपटक जग्गा नै घूसका रूपमा ‘बकस’ दिएको भेटिएको हो । ललिता निवास प्रकरणमा सीआईबीले गृह मन्त्रालयमा प्रतिवेदन बुझाइसकेको छ भने अख्तियारले छानबिन गरिरहेको छ ।

सुवर्णशमशेरका सन्तानहरू शैलजा राणा, हाटक र हेमनशमशेरले २०४९ सालमा डिल्लीबजार मालपोत कार्यालयबाट दुई चरणमा १ सय १२ रोपनी हात पारेलगत्तै वैकुण्ठ शर्मा रेग्मीका नाममा ‘हालैको बकसपत्र’ गरी १४ आना जग्गा दिएको भेटिएको हो । हालैको बकसपत्र गर्नु भनेको आफ्नो स्वामित्वको जग्गा चाहेको व्यक्तिलाई बिना शुल्क तत्काल हक हस्तान्तरण गर्नु हो । शैलजा सुवर्णशमशेरका माइला छोरा कञ्चनशमशेरकी श्रीमती हुन् भने हाटक र हेमन उनका दुई छोरा हुन् । रुक्मशमशेर सुवर्णका कान्छा छोरा हुन् । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता हुँदा राणा परिवारका यी नाम जोडिएका छन् । बकसपत्रका नाममा शंकास्पद कारोबारसमेत यिनकै नामबाट भएको छ ।

करिब ६ कित्ता टुक्राको त्यो जमिन ११ वर्षपछि वैकुण्ठले सरला घले गुरुङलाई बेचेका थिए । ‘हामीले छानबिन गर्दा जग्गा लिने वैकुण्ठ मुकुन्दप्रसाद आचार्यको ससुरा भएको खुल्यो,’ अख्तियार स्रोतले भन्यो । ललिता निवासको जग्गा अनियमितता हुँदा डिल्लीबजार मालपोत कार्यालयमा प्रेमबहादुर खापुङ शाखा अधिकृत थिए । उनले तीन जनाका नाममा ‘बकस’ लिएको जग्गा लुकाएको भेटियो । शैलजा, हाटक र हेमनले आफ्नो नाममा जग्गा आइसकेपछि खिमादेवी आङबुहाङ र मोहनप्रसाद भट्टराईका नाममा जग्गा दर्ता गरेको भेटियो । उनीहरूले २०४९ मंसिर १ गते एक रोपनी १४ आना जग्गा दुवैको संयुक्त नाममा बकसबाट पास गरिदिएका थिए ।

२०५० जेठ २९ गते भट्टराई र शशिकला सुब्बाका नाममा थप एक रोपनी ३ आना जग्गा पाएको खुल्यो । अनुसन्धानबाट खिमादेवी प्रेमप्रसाद खापुङकी पत्नी भएको खुल्यो भने भट्टराई उनका भिनाजु रहेछन् । सुब्बा प्रेमबहादुरकी सालाकी श्रीमती भएको खुलेको छ । अख्तियार स्रोतको भनाइमा प्रेमबहादुरले

आफ्नी श्रीमतीसहित आफन्तका नाममा राखेको जग्गा ‘घूस’ बापत भएको पुष्टि भइसकेको छ ।

११ आना र ५३ आना गरी कुल ६४ आनाको दुई कित्ता जग्गा तीनै राणा परिवारले भुवनकुमारी चापागाईं र उर्मिला शाहका नाममा ‘बकसपत्र’ गरिदिएका थिए । चापागाईं गृह मन्त्रालयका अवकाशप्राप्त सहसचिव गेहनाथ भण्डारीकी पत्नी हुन् भने शाह पूर्वसहसचिव एवं निर्वाचन आयोगका निवर्तमान आयुक्त सुधीर शाहकी पत्नी हुन् ।

१९ नम्बरको कित्ताबाट १० आना जग्गा शैलजा, हाटक र हेमनले उर्मिला शाह र सोदाकुमारी चापागाईंका नाममा गयो । त्यतिबेला भक्तपुरको मालपोत कार्यालयका प्रमुख रहेका सुधीर शाहकी पत्नीका नाममा दोस्रो पटक जग्गा उपहारका रूपमा गएको हो । गृहका अधिकारी गेहनाथ भण्डारीले दोस्रो पटक पत्नीका नाममा नभई सासू चापागार्इंका नाममा जग्गा राखिदिए । अर्को ३६ नम्बरको कित्ताबाट एक रोपनी जग्गा तीन राणा परिवारबाट उर्मिला शाह र भुवनकुमारी चापागाईंका नाममा गयो ।

सीआईबीको प्रतिवेदन उद्धृत गर्दै गृह मन्त्रालयले स्रोतले बताएअनुसार सबै कोणबाट विश्लेषण गर्दा सुधीर शाह र गेहनाथ भण्डारी बालुवाटारको जग्गा हत्याउने प्रमुख योजनाकार भएको खुल्छ । उनीहरू राणा परिवार र मोहीहरूको विवादको मुद्दा अदालतमा पुगेपछि समेत ‘सेटिङ मिलाउन’ सक्रिय भएको केही प्रमाण भेटिएको स्रोतले बतायो ।

गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका कर्मचारीले समेत ललिता निवासको जग्गाको भाग पाए । विद्या पौडेल गौतमले २०५० जेठ २९ गते तीन राणा परिवारबाट १४ आना जग्गा लिएको खुल्यो । छानबिन हुँदा उनी विनोदप्रसाद पौडेलकी श्रीमती रहेको भेटियो । विनोद समरजंग कम्पनीको सहायक लेखापाल थिए । ललिता निवासको जग्गा सरकारले समरजंग कम्पनीका नाममा राखेको थियो । उपत्यकाका सार्वजनिक ठाउँका रूख, काठ तथा दाउरा व्यवस्थापन गर्न पञ्चायतकालमा गृह मन्त्रालयअन्तर्गत समरजंग कम्पनी नामको अड्डा खुलेको थियो ।

मालपोत कार्यालयका कर्मचारीले पनि आआफ्नो क्षमताअनुसार जग्गाको भाग पाए । डिल्लीबजार मालपोतका प्रमुख मालपोत अधिकृत कलाधर देउजाले इन्द्रबहादुर थापाका नाममा जग्गा लुकाएको भेटियो । थापा उनका साढुभाइ हुन् । नासु जगत पुडासैनीले आफूले पाएको चार रोपनी २ आना जग्गा दिदी मिठुदेवी चापागार्इंका नाममा लुकाए । खरिदार युक्तप्रसाद श्रेष्ठले श्रीमती निर्मलादेवी श्रेष्ठका नाममा एक रोपनी १३ आना लुकाए । राजधानीको गोंगबुस्थित एक घरबाट खसेर केही महिनाअघि तत्कालीन खरिदार श्रेष्ठको मृत्यु भएको छ ।

सीआईबीको छानबिन प्रतिवेदनले रामकल्याण अधिकारी र रामनाथ घिमिरेलाई बिचौलियाका रूपमा प्रस्तुत गरेको छ । अधिकारीले बकस गरी पाएको करिब ८ आना जग्गा २०६१ फागुनमा मीनबहादुर गुरुङलाई आफूले पाएजसरी नै बकस गरेर दिएका छन् । स्रोतका अनुसार घिमिरेले मोही छुटाइदिने नाममा राणा परिवारबाट थप केही जग्गा हात पारेको खुलेको छ ।

प्रकाशित : माघ १८, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?