राष्ट्रियसभा निर्वाचनमा १६ नेकपा र २ राजपा

५९ सदस्यीय राष्ट्रिय सभामा अब नेकपा ४७, कांग्रेस ६, राजपा २, समाजवादी १ र मनोनीत ३
राजपाका कारण नेकपालाई प्रदेश २ मा दुई सिटको लाभ
राजेश मिश्र

काठमाडौँ — राष्ट्रिय सभाको १८ सिटका लागि भएको चुनावमा सत्तारूढ नेकपाले १६ सिट हात पारेको छ । नेकपाकै समर्थनमा राष्ट्रिय जनता पार्टीले दुई सिट जितेको छ ।

राष्ट्रियसभा निर्वाचनमा १६ नेकपा र २ राजपा

अब ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारले मनोनित गर्ने तीन जनाबाहेक ४७ जना नेकपा सांसद भएका छन् । थोरै संख्याको कमीले प्रतिनिधिसभामा दुई तिहाइ पुग्न चुकेको सत्तारूढ दल नेकपाले माथिल्लो सदनमा भने दुई तिहाइभन्दा पनि बढी संख्या बनाएको छ ।


पार्टी सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ मा उनी बाबुराम भट्टराईसँग पराजित भएका थिए । राष्ट्रिय सभामा निर्वाचित भएका नेताहरूमा पार्टीको नेतृत्व पंक्तिमा रहेका हिसबाले श्रेष्ठ ‘हाइप्रोपाइल’ हुन् ।


नयाँ निर्वाचितले फागुन २१ देखि मात्र जिम्मेवारी पाउनेछन् । राष्ट्रिय सभामा प्रतिपक्षी कांग्रेस १३ संख्याबाट ६ जनामा खुम्चिएको छ । नेकपासँग गठबन्धन गरेर राजपा भने आफ्नो दुई सिट जोगाउन सफल भएको छ । समाजवादीले आफ्नो दुई सिटमध्ये एक गुमाएको छ । कांग्रेसले गुमाएको ७ र समाजवादीको १ गरी राष्ट्रिय सभामा साविकको भन्दा ८ सिट नेकपाले बढोत्तरी गरेको छ ।


प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतबाट प्रदेशगत रूपमा राष्ट्रिय सभा सदस्य चुनिन्छन् । सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्यमध्ये बिहीबारको मतदानमा ५ सय ४५ जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, स्थानीय तहका १ हजार ५ सय ६ जनामध्ये १ हजार ४ सय ९५ जनाले मतदान गरेका छन् ।


प्रदेश २ बाहेक अन्य प्रदेशमा सहज बहुमतमा रहेको नेकपा प्रदेश २ मा राजपासँग गठबन्धन गरेपछि त्यहाँ पनि बहुमतमा पुगेको हो । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । प्रदेशगत रूपमा यस पटक प्रत्येक क्लस्टरबाट १/१ जना मात्रै निर्वाचित हुने भएपछि बढी मत ल्याउने व्यक्ति विजयी भएका हुन् । २०७४ मा भएको निर्वाचनमा महिला र अन्य समूहबाट ३/३ जनाको चुनिँदा एकल संक्रमणीय विधि अपनाइएको थियो । त्यसको लाभ कांग्रेसले पाएको थियो ।


गोलाप्रथाबाट दुईवर्षे कार्यकाल परेका कारण नेकपाका ८ जना सांसदहरू कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण शिवाकोटी आगामी फागुन २० गतेदेखि बिदा हुनेछन् । त्यस्तै कांग्रेसका ७ जना दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले राना, सरिता प्रसाईं र सुरेन्द्रराज पाण्डे पनि बिदा हुँदै छन् ।


राजपका २ जना रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल तथा समाजवादी पार्टीका दुईमध्ये रामपृत पासवनाको कार्यकाल पूरा भएर बिदा हुनेछन् । कार्यकाल सकिन थालेका मध्ये कोही पनि नयाँ निर्वाचनबाट दोहरिएका छैनन् । विजयी भएका नयाँ सदस्यको कार्यकाल ६ वर्षको हुनेछ ।


राष्ट्रिय सभा सदस्यमा विजयीहरूः

प्रदेश १:

इन्दिरा गौतम (नेकपा)

गोपी अछामी (नेकपा)

देवेन्द्र दाहाल (नेकपा)

प्रदेश १ को राष्ट्रियसभामा नेकपाका तीनै उम्मेदवार विजयी

प्रदेश २:

तुलसा दाहाल (नेकपा)

राधेश्याम पासवान (नेकपा)

मृगेन्द्रसिंह यादव (राजपा)

शेखर सिंह (राजपा)

प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा नेकपाकी दाहाल विजयी

वागमती प्रदेश:

गंगा बेल्वासे (नेकपा)

वेदुराम भुसाल (नेकपा)


गण्डकी प्रदेश:

भगवती न्यौपाने (नेकपा)

नारायणकाजी श्रेष्ठ (नेकपा)

राष्ट्रियसभामा गण्डकीबाट श्रेष्ठ र न्यौपाने निर्वाचित

प्रदेश ५:

विमला घिमिरे (नेकपा)

गोपाल भट्टराई (नेकपा)

जगप्रसाद शर्मा (नेकपा)

प्रदेश ५ मा राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेद्वार विजयी

कर्णाली प्रदेश:

सुमित्रा बीसी (नेकपा)

मायाप्रसाद आचार्य (नेकपा)

राष्ट्रियसभामा कर्णालीबाट नेकपाका दुवै उम्मेदवार विजयी

सुदूरपश्चिम प्रदेश:

तारामान स्वाँर (नेकपा)

शारदा भट्ट (नेकपा )

सुदूरपश्चिमबाट स्वाँर र भट्ट निर्वाचित

प्रकाशित : माघ ९, २०७६ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?