प्रदेश ५ मा राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेद्वार विजयी 

माघ ९, २०७६

दुर्गालाल केसी

दाङ — प्रदेश ५ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन् । बिहीबार बेलुका सम्पन्न मत परिणाम अनुसार नेकपाबाट महिलातर्फ बिमला घिमिरे, अपांग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

अपांग/अल्पसंख्यक कोटाबाट शर्मा ५ हजार ४ सय २४ मतभारसहित विजयी भएका छन् । शर्माका प्रतिस्पर्धी नेपाली काँग्रेसका मेराज अहमद हलवाई १ हजार ९८६ मतभार प्राप्त गरेर पराजित भएका छन् । संघीय समाजबादी पार्टीका सुनिल सिंघलले ४२० मतभार प्राप्त गरेका छन् ।


महिलातर्फ घिमिरे ५ हजार ७ सय ७८ मतभार ल्याएर विजयी भएकी छन् । नेपाली काँग्रेसकी गिरिजादेबी न्यौपाने २ हजार १ सय मतभारसहित पराजित भएकी छन् । 


अन्य समूहका भट्टराई ५ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका बालकृष्ण पाण्डे २ हजार ५२ मतभार प्राप्त गर्दा संघीय समाजवादीका कृष्णप्रसाद यादवले ४ सय ४४ र राष्ट्रिय जनमोर्चाका शिव पौडेलले १ सय ५६ मतभार प्राप्त गरेका छन् । प्रदेश ५ बाट तीन पदका लागि ९ जनाको उम्मेद्वारी परेको थियो । 


निर्वाचनमा ३ सय ३ मत खसेको थियो । प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १८ मध्ये १ सय १७ को मात्रै मत खसेको थियो । 


बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव मात्रै मतदानमा सहभागी हुन सकिनन् । संघीय समाजवादी फोरमबाट निर्वाचित श्रीवास्तव आफन्त बिरामी भएर उपचारका लागि भारत गएकाले मतदानमा सहभागी हुन नसकेकी हुन् । 


यसैगरी प्रदेशसभा सदस्यहरु ८६ जनाले मतदान गरेका छन् । प्रदेशसभा सदस्य ८७ मध्ये बलदेव शर्माको हालै निधन भएको थियो ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully