प्रदेश १ को राष्ट्रियसभामा नेकपाका तीनै उम्मेदवार विजयी

देवनारायण साह

मोरङ — राष्ट्रियसभा सदस्यको प्रदेश १ मा महिला, दलित र अन्य गरी तीन सदस्यका लागि भएको निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

नेकपाका महिलातर्फ सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ६४ वर्षीया इन्दिरादेवी गौतम, दलिततर्फ मोरङका गोपीबहादुर सार्की अछामी र अन्यतर्फ झापाका ६१ वर्षीय देवेन्द्र दाहाल विजयी भएका हुन् ।


गौतमले ६ हजार ४ सय २६ मतभार ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मिना पुलामी मगरले २ हजार ६ सय २२ मतभार ल्याएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले बताए ।


यस्तै,अछामीले ६ हजार ३ सय ३० मतभार ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका निरबहादुर विश्वकर्माले २ हजार ७ सय १८ मतभार ल्याए । अन्यतर्फ दाहालले ६ हजार २ सय ३४ मतभार ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रकुमार घिमिरेले २ हजार ७ सय ६६ मतभार ल्याए ।


कूल मतदाता प्रदेशसभा सदस्य ९३ जनामध्ये ९२ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष २ सय ७४ मध्ये २ सय ७२ जनाले मतदान गरे ।


प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी तीन जनाले मतदान गर्न आएनन् । मतदान नगर्नेमा मोरङको प्रदेशसभा सदस्य गुलेफुन मियाँ खातुन, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पा र संखुवासभाकी सिलिचोङ गाउँपालिका उपाध्यक्ष लालकुमारी राईले मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । प्रकाशित : माघ ९, २०७६ १९:४२

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेश २ को राष्ट्रिसभामा नेकपा-राजपा गठबन्धन विजयी

श्यामसुन्दर शशि

जनकपुर — राष्ट्रियसभाका रिक्त ४ पदका लागी प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बिहीबार सम्पन्न निर्वाचनमा नेकपा-राजपा गठबन्धन विजयी भएको छ ।

साँझ घोषित मतपरिणाम अनुसार महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । दाहाल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी थिइन् भने निजको प्रतिद्वन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४ हजार ७ सय ४० मत प्राप्त गरिन् ।

यसैगरी दलित क्लस्टरतर्फ नेकपाका राधेश्याम पासवान विजयी भएका छन् । पासवानले ५ हजार २ सय ९२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी संघीय समाजवादी पार्टीका रामप्रीत पासवानले ४ हजार ७ सय ४ मत प्राप्त गरेका थिए ।

अन्य समूहबाट राजपाका मृगेन्द्र सिंह यादव ५ हजार ४ सय मतभार प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिद्वन्दी अनिरुद्ध यादवले ४ हजार ५ सय १२ मतभार प्राप्त गरेका थिए ।

यसैगरी अल्पसंख्यक समूहबाट राजपाका शेखरकुमार सिंह ५ हजार ५ सय २ मतभार प्राप्त गरी विजयी भएका छन । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका भोला पजियार ४ हजार ५ सय १२ मत प्राप्त गरेका छन् ।

प्रकाशित : माघ ९, २०७६ १९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×