२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

राजीनामापछि शिवमायाले भनिन्- ‘बाजी मैले नै मारें तर पितृसत्ता फाल्न बाँकी छ’

जयसिंह महरा

काठमाडौँ — उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभालाई नेतृत्वविहीन हुन नदिन आफूले अहिलेसम्म राजीनामा नदिई बसेको बताएकी छिन् । संसद सचिवालयमा राजीनामापत्र बुझाएपछि संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै तुम्बाहाङ्फले संविधानले नै प्रतिनिधिसभालाई नेतृत्वविहीनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पारेकी हुन् ।  

राजीनामापछि शिवमायाले भनिन्- ‘बाजी मैले नै मारें तर पितृसत्ता फाल्न बाँकी छ’

संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारेकी हुन् ।राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफूलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि स्पष्ट पारिन् । उनले भनिन्, ‘मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन,संविधान थियो । व्यक्ति र संस्था संविधानपछिका हुन् । मलाई संविधानले नै यहाँसम्म पुर्‍याएकाे हो । आज पनि अगाडि बढेको भए नेकपासँग संविधानअनुसार महाभियोग लगाउने मात्र विकल्प थियो । मैले हटाउने भए महाभियोग लगाएर हटाउ पनि भनेकी थिएँ, तर हामी सबैले यसको सहज निकास निकाल्यौँ ।’

तुम्बाहाङ्फेले कसैको निर्देशनमा राजीनामा नदिएको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘मैले जे बोले त्यो पुर्‍याएँ । नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ ।’

उनले उपसभामुखबाट राजीनामा दिन दलले दिएको निर्देशन नमानेकै पनि बताइन् । उनले भनिन्, ‘मैले दलको निर्देशन नमानेकै हो । आग्रह भएको भए सोचिन्थ्यो । म दलको उपसभामुख थिइनँ । प्रतिनिधिसभाको थिएँ, दलीय व्यवस्थाअनुसार उपसभामुख निर्वाचित भएकाले दलसँग समन्वय र सहकार्य गरिरहेकी थिएँ ।’

आफूले दलीय स्वार्थबाट बाहिर रहेर जिम्मेवारी सम्हालेको बताउँदै उनले भनिन्, ‘दलको अर्डरबाट प्रतिनिधि सभालाई जोगाउन सक्छु कि सक्दिनँ भन्ने लडाइँमा थिएँ । त्यसमा सफल भएकी छु । आजको दिनसम्म आइपुग्दा संविधानअनुसार चलेकी थिएँ । तर त्यसमा बाधाहरु पनि धेरै थिए ।’

आफूले राजीनमा दिएपछि प्रतिनिधिसभामा नयाँ नेतृत्व सुनिश्चित भएको पनि तुम्बाहाङ्फेले बताइन् । आजका दिनसम्म प्रतिनिधिसभालाई आफूले रिक्त रहन नदिएको उनले बताइन् ।

मुलुकमा पितृसंस्था सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको पनि उनले टिप्पणी गरिन्, ‘नेपालमा पितृसत्ता एकदम बलियो छ । राजसंस्थालाई सहजै फालिदियौँ तर पितृसत्ता फाल्न बाँकी छ, गाह्रो पनि छ ।’

संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफूले बाजी मारेको दाबी गर्दै उनले भनिन्, ‘बाजी मैले नै मारें । अब मेरो कामको ट्रयाक चेन्ज भएको छ । परिवर्तन भएको छ । युटर्न भएको छ । म नयाँ लक्ष्यसहित अगाडि बढ्नेछु ।’ तर तुम्बाहाङ्फेले ‘युटर्न’, ‘नयाँ लक्ष्य’ र ‘ट्रयाक चेन्ज’ के हो त भन्ने प्रश्नको उत्तरमा भविष्यमै दिने बताइन् ।

अब मन्त्री बन्नुहुन्छ त भन्ने प्रश्नमा भने अहिलेसम्म कुनै सहमति नभएको उनले बताइन् ।

प्रकाशित : माघ ६, २०७६ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?