कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपसभामुख तुम्बाहाङ्फेले गरिन् राजीनामा दिने घोषणा

जयसिंह महरा

काठमाडौँ — सोमबार बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने घोषणा गरेकी छिन् । प्रतिनिधिसभालाई सम्बोधन गर्दै लामो समयसम्म सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधिसभा सभामुखविहीन भएकाले जटिलता उत्पन्न भएको बताउँदै उपसभामुख तुम्बाहाङ्फेले आफूले राजीनामा दिएर मार्गप्रशस्त गर्ने बताएकी छिन् ।

उपसभामुख तुम्बाहाङ्फेले गरिन् राजीनामा दिने घोषणा

‘अन्यौलपूर्ण अवस्थामा उपसभामुख पद पनि रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्वविहीन राख्नु उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर मैले सार्वजनिक रुपमा राखेको मान्यता पनि सम्मानित सदनसमक्ष अभिलिखित गराउन चाहन्छु,’ उपसभामुख तुम्बाहाङ्फेले संसदलाई सम्बोधन गर्दै भनिन् ।


उनले समावेशी लोकतन्त्र अक्षर र वचनबाट होइन, अभ्यास र आचरणबाट मात्रै सम्भव हुने बताइन् । ‘समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषताको रुपमा रहेको छ । संविधानको यो मर्म अक्षर या बचनबाट होइन हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुनसक्छ भन्ने मलाई लाग्छ । राज्यका उच्च ओहदाहरुमा समाजका सबै अंगहरुको प्रतिबिम्ब झल्कन सक्यो भने मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थसँग संविधान निर्माणमा अगुवाई गरेका राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुनेछ भन्ने मैले आशा लिएको छु,’ उनले भनिन् ।


उनले घुमाउरो शैलीमा संविधानको मर्मअनुसार नै आफूले सभामुखका पदका लागि दाबी गर्दै शीर्ष तहमा राखेको कुरा अस्वभाविक नभएको दाबी गरिन् । उनले भनिन्, ‘मैले मेरा धारणाहरु सम्बन्धित निकायमा प्रस्तुत गरेकी हुँ । मेरा यी धारणाहरु कुनै अस्वभाविक महत्वकांक्षा या र अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु । यससम्बन्धी विभिन्न प्रतिक्रियाहरु मैले नजिकबाट नियालिरहेकी छु । समयले यसबारेमा वस्तुनिष्ठ मूल्यांकन गर्नेछ भन्ने मेरो विश्वास छ ।’


प्रतिनिधिसभामा बहुमत प्राप्त नेकपाले सभामुखको दाबी गरेकाले प्रचलित संवैधानिक र कानुनी व्यवस्थाका आधारमा सहजीकरणका लागि आफूले राजीनामा दिने उनले बताइन् ।


प्रतिनिधिसभाको बैठक दिउँसो चार बजेसम्मका लागि स्थगित भएको छ । केही बेरमै शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने र प्रतिनिधिसभाका सदस्य महन्थ ठाकुरले ज्येष्ठ सदस्यका रुपमा राष्ट्रपतिबाट सपथग्रहण गर्ने तयारी रहेको छ ।

उपसभामुख तुम्बाहाङ्फेको मन्तव्यको पूर्ण पाठ

प्रकाशित : माघ ६, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?