काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठकले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेको नेकपाका महासचिव विष्णु पौडेलले बताए ।
सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहान पनि करिब दुई घण्टा छलफल भएको थियो । उक्त छलफलपछि पूर्व माओवादी समूहबाट सापकोटालाई सभामुख बनाउन प्रधानमन्त्री एवं अध्यक्ष ओली सहमत भएपछि सचिवालय बैठक बोलाइएको थियो ।
<iframe src="https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2FeKantipur%2Fvideos%2F478741146143132%2F&show_text=0&width=560" width="560" height="315" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowTransparency="true" allowFullScreen="true"></iframe>
बैठकमा अध्यक्ष दाहालले सभामुखको उमेद्वारमा सापकोटाको नाम प्रस्ताव गरेका थिए । त्यसपछि सचिवालयले उक्त प्रस्ताव पारित गरेको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई र दाहालले सापकोटालाई सभामुख बनाउने अडान लिएका थिए । दुवै अध्यक्ष आ–आफ्ना अडानबाट पछाडि नहटेपछि प्रतिनिधिसभा साढे तीन महिना सभामुख बिहीन रह्यो ।
नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ । सभामुखमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेको पनि दाबी थियो ।
सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए ।
नेकपाले सभामुखको उमेद्वार टुङ्गाएपछि संसदको गतिरोध पनि खुलेको छ । प्रतिनिधिसभाको बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्ने सम्भावना छ ।
