बागलुङ — नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिँदा सभामुख चयनमा ढिलाइ भएको बताएका छन् । पूर्वमाओवादी र पूर्वएमालेको लडाईले सभामुख चयनमा ढिलाइ नभएको प्रवक्ता श्रेष्ठको तर्क छ ।
प्रेस संगठन बागलुङले आइतबार गरेको पत्रकार भेटघाटमा श्रेष्ठले सोमबार सभामुखका लागि उपयुक्त पात्र चयन बताए । ‘सभामुख चयनमा पहिलो बाधक उपसभामुख बन्नु भएको छ, उहाँले राजीनामा दिने बित्तिकै उपयुक्त पात्र चयन हुन्छ’ श्रेष्ठले भने, ‘सभामुख चयनकै ढिलाइले अरु काम रोकिएका छन् ।’
हिउँदे अधिवेशनको पहिलो कार्यसूची नै सभामुख चयन भएकोले अन्य काममा जान नसकिएको समेत श्रेष्ठले बताए । सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुखमा पार्टीले उमेद्वारी दिने निर्णय गरेकाले उपसभामुख तुम्बाहाङ्फेलाई राजिनामा गराउन खोजेको श्रेष्ठले बताए ।
राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार श्रेष्ठ मतदाता भेटघाटमा बागलुङ आएका हुन् । श्रेष्ठले गोरखाबाट प्रतिनिधिसभाको निर्वाचन पराजित भएपछि ५ वर्ष प्रतिनिधिसभामा नजाने निर्णय गरेको तर पार्टीले राष्ट्रियसभामा पठाएकोले जान लागेको बताए । ‘मैले ५ वर्ष प्रतिनिधिसभा जान्न भनेको थिए, अन्य पदमा जान्न भनेको होइन,’ उनले भने, ‘जनताको सेवा गर्न पाउने भएकोले राष्ट्रियसभामा जान खोजेको हुँ ।’
