कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आखिर किन बालुवाटार जान चाहेनन् दाहाल ?

बबिता शर्मा

काठमाडौँ — मंगलबार दिउँसो चितवनको माडी पुगेर नेकपा अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, ‘समय भएर म माडी आएको होइन ।तपाईंहरुले देख्नुभएको छ, केन्द्रीय राजनीतिमा कहिलेकाहीं जटिलता देखा पर्न खोज्छन्...बेलुका फर्किएपछि थुप्रै बैठक गर्नुपर्नेछ ।’ यस्तो भाषण गर्दै त्यसै दिन साँझ काठमाडौं फर्केका दाहालले बिहीबार दिउँसोसम्म शीर्ष संवाद गरेनन् ।

आखिर किन बालुवाटार जान चाहेनन् दाहाल ?

काठमाडौं फर्केलगत्तै देखिने गरी कुनै छलफल गरेनन् । उनलाई भेट्न पार्टीका एक–दुई जना नेता उनकै निवास खुमलटार गए ।


ससाना मुद्दामा पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेट्‌न दिनहुँजसो बालुवाटार जाने दाहाल आइतबारदेखि बालुवाटार गएका छैनन् । आखिर दाहाल के कुरामा झस्किए र प्रधानमन्त्री ओलीसँग भेटका लागि बालुवाटार गएनन् ?


भैंसेपाटी भेलामा सहभागी नेकपा सचिवालयका एक सदस्यका अनुसार उपसभामुखसँगको भेटमा ओलीको भूमिकालाई लिएर दाहाल धेरै नै असन्तुष्ट छन् । आइतबार बिहान उपसभामुख शिवमाया तुम्बाहाङ्फेकै आग्रहमा ओली र दाहालले बालुवाटारमा तुम्बाहाङ्फेसँग छलफल गरेका थिए । छलफलमा सचिवालय सदस्यहरु ईश्वर पोखरेल र विष्णु पौडेल पनि सहभागी थिए ।


छलफलमा पार्टी निर्णय लागू गरेर राजीनामा दिन दाहालले तुम्बाहाङ्फेसँग आग्रह गरेका थिए । तर, नेकपा सचिवालयको निर्णय र लेखिएको पत्रप्रति आपत्ति जनाउँदै उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिने अडान लिएकी थिइन् ।

उनले पार्टी निर्णयलाई चुनौती दिँदै निर्णय फिर्ता लिनसमेत चेतावनी दिएकी छिन् । सचिवालयले सर्वसम्मत गरेको निर्णयलाई सिधै चुनौती दिँदासमेत प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बचाउ नगरेकोप्रति दाहाल असन्तुष्ट बनेका थिए ।


पार्टीले बनाएको सांसद र उपसभामुखले सिधै चुनौती दिँदा पनि उपसभामुखलाई राजीनामा दिन दबाब दिनुको साटो प्रधानमन्त्री ओली मौन बसेपछि आफू सबैभन्दा बढी झस्किाएको ब्रिफिङ् उनले निकट नेताहरुलाई गरेका थिए । ओलीको भूमिका पार्टी निर्णय कार्यान्वयनमा नदेखिएपछि असन्तुष्ट दाहाल थप संवादका लागि बालुवाटार जान हतार नगरेको दाहाल निकट एक नेताले बताए ।

उपसभामुखसहित आइतबारको छलफलमा दाहालले, ‘तपाईंलाई निर्देशन दिएको होइन, सुझाव दिएको हो, पार्टीले सभामुख पद गुमाउन सक्दैन, त्यसैले तपाईंले राजीनामा दिएर सहयोग गर्नुस्,’ भनेका थिए । तर, ओलीले भने बैठकमा पार्टी निर्णय लागू गराउने विषयमा स्पष्ट निर्देशन दिएका थिएनन् ।


सभामुखको उम्मेदवार नबनाएसम्म राजीनामा नदिने तुम्बाहाङ्फेको अडानपछि ओलीले प्रतिनिधिसभा बैठक स्थगित गर्न प्रस्ताव गरेका थिए । त्यसै अनुसार माघ ६ गतेसम्मका लागि संसद् बैठक स्थगित छ ।


यही असन्तुष्टिका रुपमा दाहाल चारदिनदेखि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेट्‌न बालुवाटार नगएको सचिवालयका अर्का नेताको दाबी छ । उनका अनुसार दिनदिनै बालुवाटार गएर हारगुहार गर्दा पनि समस्या समाधानमा प्रधानमन्त्रीले अग्रसरता नदेखाएको भन्दै केही दिन शान्तसँग बस्न दाहाललाई भैंसेपाटी भेलामा सहभागी सचिवालयका केही सदस्यले सुझाव दिएका थिए ।

‘मलाई लाग्छ, उहाँ (दाहाल) बालुवाटार नजानुमा दुई कारण छन्, पहिलो उहाँले प्रधानमन्त्रीको भूमिकामाथि असन्तुष्टि जनाएको सन्देश दिनुभयो । दोस्रो हाम्रो सुझाव सुन्नुभयो,’ एक नेताले भने । तर, प्रधानमन्त्री निकट स्रोतका अनुसार बिहीबार (आज) दाहालसँग छलफलको सम्भावना छ ।


गत शनिबार नेकपा सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर, उनले पार्टी निर्णयलाई चुनौती दिएपछि ओली–दाहालले सम्झाउने उद्देश्यले छलफलमा बोलाएका थिए ।


गत शुक्रबार पनि ओली–दाहालसँग तुम्बाहाङ्फेले आफूलाई सभामुख बनाउने निर्णय नगरेसम्म राजीनामा नदिने बताएकी थिइन् । त्यसपछि नेकपाको सचिवालय बैठकले औपचारिक निर्णय गरेर राजीनामा दिन निर्देशन दिएको थियो । तर, निर्णय कार्यान्वयनमा प्रधानमन्त्री ओलीले सक्रियता नदेखाएकोमा दाहालको असन्तुष्टि छ ।


उपसभामुखको राजीनामा गराउने विषयमा नेकपाभित्र शीर्ष नेताहरुबीच नै धुव्रीकरण छ ।


प्रकाशित : माघ २, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?