ओली-दाहाललाई तुम्बाहाङ्फेको जवाफ : राजीनामा गराउने निर्णय फिर्ता लैजानुस् !

पुस २७, २०७६

जयसिंह महरा

काठमाडौँ — उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नेकपा सचिवालयले राजीनामा दिन गरेको निर्देशन नमान्ने बताउँदै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई निर्णय फिर्ता लिन भनेकी छन् । आइतबार बिहान बालुवाटारमा उपसभामुख तुम्बाहाङ्फेलाई बोलाएर अध्यक्षद्वयले राजीनामा गर्न निर्देशन दिएका थिए । सो बैठकमा महासचिव विष्णु पौडेलको पनि उपस्थिति थियो । 

बैठकमा शनिबार सचिवालय बैठकले गरेको निर्णयबारे उपसभामुखले चासो राखेकी थिइन् । उनले निर्णयमा कसको हस्ताक्षर छ भनेर सोधेकी थिइन् । जवाफमा महासचिव पौडेलले उपसभामुखलाई राजीनामा गराउने भनेर सचिवालयले गरेको निर्णयमा आफ्नो हस्ताक्षर रहेको बताएका थिए । 

त्यसपछि तुम्बाहाङ्फेले, 'तपाईंको निर्णय तपाईं नै फिर्ता लैजानुस्,' भनेकी थिइन् । 

उपसभामुखले बैठकमा आफूले राजीनामा नदिने जानकारी गराएको बताइन् । उनले आफूलाई सभामुख बनाउने निश्चित नगरेसम्म उपसभामुखबाट राजीनामा नगर्ने बरु संसद बैठक संचालन गरेर सभामुख निर्वाचनको कार्यतालिका अगाडि बढाउने बताएको दाबी गरेकी छिन् । 

बाहिर निर्देशन वा जे भनेर आएपनि सचिवालयले भने संविधानको व्यवस्था बमोजिम सभामुख नेकपाले पाउने वातावरण बनाउनका लागि राजीनामा गराउने कुरा भएको दाहालले उपसभामुखलाई बताएका थिए । 

तुम्बाहाङ्फेले राजीनामा नदिने अडान लिएपछि अध्यक्षद्वयले प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित गर्न उपसभामुखलाई नै निर्देशन दिएका थिए । बालुवाटार बैठकबाट बाहिरिएसँगै उपसभामुखले सूचना टाँस गरेर संसद बैठक स्थगित गरेकी थिइन् । 


जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully