प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन कांग्रेसको चेतावनी

काठमाडौँ — प्रतिपक्षी कांग्रेसले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिएको छ । सूचना टाँसेर संसद बैठक ८ दिन सारिएपछि कांग्रेसले सरकार र सत्तारुढ दल नेकपालाई तत्काल निकासको मार्ग प्रशस्त गर्न सचेत गराएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै सत्तारुढ नेकपाका कारण एक महिनादेखि सदन अवरुद्ध रहेको आरोप लगाएका छन् ।
‘नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँदछ,’ विज्ञप्तिमा छ ।
आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्म सूचना टाँसेर स्थगित गरिएपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो ।
शर्माले प्रतिनिधिसभालाई सत्तारुढ दलभित्रको विवादको छाया बनाएको आरोप लगाएका छन् । ‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुन्छ,’ शर्माले भनेका छन्, ‘तर ३ महिनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायामा प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।’
यस्तै नेपाली कंग्रेसका सांसद गगन थापाले पनि ट्वीट गर्दै नेकपाभित्रको स्वार्थका कारण संसदलाई बन्धक बनाउनु निन्दनीय रहेको बताउँदै ट्वीट गरेका छन् ।
प्रकाशित : पुस २७, २०७६ १३:५८नेकपाभित्रको स्वार्थको वेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय छ।यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रवन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छ। उपसभामुखज्यू,संसद कुनै दलको छायाँ होइन,तपाईं संसदको उपसभामुख हो,नियमानुसार सदनको प्रकृया अगाडी बढाइयोस्।
— Gagan Thapa (@thapagk) January 12, 2020