कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भैंसेपाटी भेलाले जन्मायो ओली-दाहालबीच अविश्वास 

बबिता शर्मा

काठमाडौँ — कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यबीचको गोप्य भेटघाटलाई लिएर नेकपाभित्र हलचल पैदा भएको छ । यसको सबभन्दा ठूलो तरंग प्रधानमन्त्री निवास बालुवाटारमा देखिएको छ ।

भैंसेपाटी भेलाले जन्मायो ओली-दाहालबीच अविश्वास 

यही विषयलाई लिएर दुई अध्यक्ष केपी शर्मा ओली र दाहालबीच अविश्वास पैदा हुने अवस्था आएपछि दाहालले आंशका मेट्न सचिवालय बैठकमा भैंसेपाटी भेटघाटबारे जानकारी गराएका थिए । भेटघाटमा सामान्य राजनीतिक विषयवस्तुमा कुरा भएको र कुनै मोर्चाबन्दी नभएको उनले जानकारी दिएका थिए ।


उपसभामुखलाई राजीनामा दिन लगाउने शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन् । सचिवालयका केही सदस्य यसलाई ओलीको असन्तुष्टिका रुपमा हेर्छन् । तर, ओली बैठकको केही अगाडिमात्रै मिर्गौलाको डायलासिस गरेर फर्किएका कारण बैठकमा सहभागी नभएको बताइएको छ । बैठकअघि बालुवाटारमै ओली र दाहालबीच कुराकानी भने भएको थियो ।


बुधबार दाहालसहित तेस्रो वरियताका झलनाथ खनाल, माधवकुमार नेपाल, संगठन विभाग प्रमुख वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच गोप्य भेटघाट भएको थियो । भेटघाट नेता गौतमको निवास भैंसेपाटीमा भएको थियो ।


नौ सदस्यीय सचिवालयका पाँच नेताले गरेको गोप्य भेटघाटले नेकपाभित्र असन्तुष्टि र आंशका पैदा गरेको छ । पार्टीका कार्यकारी अध्यक्षले नै गुटको भेला गरेका भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले असन्तुष्टि जनाएका हुन् । सचिवालयका बहुमत सदस्य भेला भएर आफूविरुद्ध मोर्चा बन्दी गरेको ओलीको बुझाई छ ।


ओली निकट स्थायी समितिका एक सदस्य दुई अध्यक्षबीच सिधा–सिधा कुरा गर्दा राम्रो हुने बताउँछन् । ‘कार्यकारी अधिकार पाएको अध्यक्षले भिन्दै गोप्य भेला बैठक गर्दा आशंका पैदा हुन्छ । यसो नगर्दा पार्टीको हितमा हुन्छ,’ उनले भने ।


भेटलगत्तै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बिहीबार नै दाहाल र प्रवक्ता नारणकाजी श्रेष्ठलाई बालुवाटार बोलाएर गोप्य भेटघाटमा भएको छलफलबारे जान्न चाहेका थिए । तर, दाहाल अन्य काममा व्यस्त भएको भन्दै बिहीबार बालुवाटार गएनन् ।


प्रवक्ता श्रेष्ठले भने बिहीबार नै बालुवाटार पुगी भेटबारे ओलीलाई जानकारी गराएका थिए । ओली र श्रेष्ठबीच बिहीबार साँझ करिब दुई घण्टा लामो छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहीवार श्रेष्ठ र शुक्रबार दाहालसँग प्रधानमन्त्री ओलीको भेट भएको थियो । श्रेष्ठले प्रधानमन्त्री ओलीसँग आफ्नो भेट भएको पुष्टि गरे । तर, छलफलको विषयबस्तुबारे उनले भने, ‘समसामयिक राजनीतिक विषयमा कुराकानी भयो ।’


ओलीले प्रवक्ता श्रेष्ठसँग के उद्देश्यका लागि भेला गरिएको हो र के–के विषयमा छलफल भयो भनेर जान्न खोजेका थिए । जवाफमा श्रेष्ठले ‘पार्टीको आन्तरिक जीवनकाबारे छलफल भएको र त्यहाँ कुनै मोर्चाबन्दी नभएको’ जानकारी गराएका थिए ।


बिहीबार भेट नभए पनि ओली र दाहालबीच शुक्रबार भने करिब तीन घण्टा लामो छलफल भएको थियो । स्रोतका अनुसार यो छलफलमा पनि ओलीले भैंसेपाटी भेलाबारे दाहालसँग जानकारी मागेका थिए । दाहालले भने गौतमको आग्रहमा आफू उनको घरमा गएको र अन्य नेताहरु पनि आएपछि समसामयिक विषयमा छलफल भएको बताएका थिए ।


शुक्रबार ओली र दाहालबीचको छलफलमा केही समय उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि सहभागी थिइन् । उपसभामुखको राजीनामालाई लिएर ओली र दाहालबीच फरक मत छ । दाहालले उपसभामुखले राजीनामा दिए सभामुख चयनको प्रक्रिया अगाडि बढाउन सहज हुने बताएका थिए । ओलीले भने पहिला सभामुखको टुंगो लागेपछि उपसभामुखको राजीनामा आउने बताएका थिए । ओली र दाहालसँगको भेटमा उपसभामुख तुम्बाहाङ्फेले सभामुख टुंग्याएपछि मात्रै आफुले राजीनामा दिने बताएकी थिइन् । त्यसको भोलीपल्टै नेकपाले तुम्वाहाम्फेलाई उपसभामुखबाट राजीनामा दिन निर्देशन दिएको थियो ।


भैंसेपाटी भेटघाटको सम्बन्ध नेकपाको राष्ट्रियसभा उम्मेद्वार छान्ने निर्णयसँग जोडिएको छ । नेकपाले पुस १८ गते राष्ट्रियससभाको आसन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको थियो । बैठकमा नेता गौतम र श्रेष्ठलाई पनि राष्ट्रियसभा उम्मेद्वार बनाउन दुवै अध्यक्ष ओली र दाहालले प्रस्ताव गरेका थिए । श्रेष्ठले पार्टीको निर्णय स्वीकारे पनि गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन भएमात्रै आफू उम्मेद्वार हुने सर्त राखेका थिए । त्यसपछि ओलीले ससर्त राष्ट्रियसभामा पठाउन नसकिने भन्दै गौतमको सर्त अस्वीकार गरेका थिए ।


प्रधानमन्त्री ओलीले आफ्नो सर्त अस्वीकार गरेकोमा असन्तुष्ट नेता गौतमले पुस २३ गते बुधबार माधव नेपालसँग भेट गरेका थिए । यही भेटमा हो, गौतम निवासमा दाहालसहित सचिवालयका पाँच नेताको भेला गर्ने निर्णय भएको । गौतम र नेपालबीचको भेटपछि त्यसै दिन दिउँसो गौतम निवासमा पाँच नेता भेला भएर छलफल गरेका थिए ।


भेलाका सहभागी एक नेताका अनुसार भैंसेपाटी भेलामा राष्ट्रियसभा उम्मेद्वार टुंगाउने दिन गौतमले राखेको सर्तमाथि छलफल भएको थियो । एक नेताका अनुसार ‘प्रधानमन्त्री ओलीले पनि संविधान संसोधन गर्नै सकिन्नँ नभनेको अवस्थामा राष्ट्रियसभामा जानका लागि सर्त राख्नु गौतमको गल्ती भएको’ भेलाको निश्कर्ष थियो । गौतमले प्रधानमन्त्री बन्ने बाटो नखोले आफू सांसद हुनकै लागि राष्ट्रियसभामा नजाने अडान राखेका थिए । बर्दियाबाट २०७४ को चुनाव हारेका गौतमले यसअघि विभिन्न ठाँउबाट उपचुनाव लडेर सांसद बन्ने इच्छा व्यक्त गरेका थिए । तर, पार्टीभित्रको शक्ति सन्तुलनका कारण उनको प्रयास सफल भएको थिएन ।


ती नेताका अनुसार संविधान संसोधनका लागि पार्टीभित्र पहल गर्ने सहमति भएको थियो । संविधान संसोधनको मूख्य मुद्दाबाहेक एमसीसी र सभामुख चयनका विषयमा पनि त्यस दिन सामान्य छलफल भएको थियो । यही छलफललाई लिएर प्रधानमन्त्री ओलीले असन्तुष्टि राखेका हुन् । भेटघाटमा ओली स्वयं र ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र रामबहादुर थापा गएका थिएनन् ।


गत वर्ष पनि झम्सीखेलमा यीनै पाँच नेता बसेर ओलीको कार्यशैलीविरुद्ध जाने योजना बनाएका थिए । २०७५ माघ १० गते प्रधानमन्त्री ओली विदेश भ्रमण रहेकै बेला सचिवालयका बहुमत सदस्यले धोवीघाटमा गोप्य छलफल गरेका थिए । यो भेलाबाट पनि ओली असन्तुष्ट बनेका थिए ।


आफूविरुद्ध मोर्चाबन्दी भएको थाहा पाएपछि ओलीले गौतमलाई उपाध्यक्ष र संगठन विभाग बनाउने कार्ड फालेका थिए । त्यसैअनुसार गौतमलाई संगठन विभाग प्रमुख बनाइएको हो । र, उपाध्यक्ष बनाउनका लागि पार्टी विधान संसोधन प्रस्ताव तयार भएको छ । स्थायी समितिले पास गरेको संसोधन केन्द्रीय समितिले अनुमोदन गरेपछि लागु हुनेछ । नेकपाले माघ १५ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रकाशित : पुस २७, २०७६ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?