कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ओली–दाहाल भेटघाट ठप्प

आ–आफ्नो समूहभित्र मात्र संवाद, सभामुखमा साझा प्रस्ताव ल्याउन अध्यक्षद्वयलाई नेताको दबाब

काठमाडौँ — सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेका बेला सत्तारूढ नेकपाका दुई अध्यक्षबीच भने गत आइतबारदेखि औपचारिक भेट र संवाद भएको छैन ।

ओली–दाहाल भेटघाट ठप्प

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालले आ–आफ्नो पक्षधर नेताहरूसँग अनौपचारिक संवाद भने गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितका नेताहरूसँग सभामुख चयनका विषयमा कुराकानी गरे ।

दाहाल निवासमा पनि पूर्वमाओवादी समूहका नेताहरूबीच छलफल भएको छ । महासचिव पौडेलले दुवै अध्यक्षलाई दिनहुँ भेट्ने गरेका छन्, अनौपचारिक सन्देश पुर्‍याइरहेका छन् । ‘यो विषय दुई अध्यक्षले नै टुंग्याउने खालको छ । उहाँहरूले टुंग्याउनुहुन्छ भन्नेमा म विश्वस्त छु,’ महासचिव पौडेलले भने । उनले दुई अध्यक्षबीचको अहिलेको मनस्थिति कुन तहको हो भन्ने कुरा भने खुलाउन चाहेनन् ।


सभामुखको उम्मेदवार चयनसम्बन्धी विवादले चर्को रूप लिएपछि नेकपाका नेताहरूले दुवै अध्यक्षलाई मिलेर साझा प्रस्ताव ल्याउन दबाब दिइरहेका छन् । प्रतिनिधिसभाको माघ ६ का लागि निर्धारित बैठकमा पनि सभामुखको उम्मेदवार चयन हुन नसके त्यसले पार्टीलाई अप्ठेरो पार्ने उनीहरूले चेतावनी पनि दिएका छन् । नेताहरूले अहिलेसम्म मिलेर नै पार्टीको यति ठूलो हैसियत बनेकाले एउटा पदमा धेरै ठूलो विवाद देखाउन नहुने सुझाव दिइरहेको स्रोतले जनाएको छ ।


विशेषगरी पूर्वमाओवादी धारका नेताहरूले ओलीलाई विश्वासमा लिँदै आफ्नो पक्षमै सभामुख पार्ने गरी संवाद अघि बढाउन दाहाललाई सुझाव दिइरहेका छन् । उता बालुवाटारमा प्रधानमन्त्री ओलीचाहिँ गत साता वामदेव गौतमको निवासमा भएको सचिवालयका पाँच जना नेताको बैठकपछि बढ्ता सशंकित छन् । टाउको गनेर आफूलाई दबाब दिन खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिरहेका छन् । बिहीबार बिहान पनि बालुवाटारमा प्रधानमन्त्रीनिकट नेताहरूबीच यो विषयमा थप छलफल हुने स्रोतले जनाएको छ ।


उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार तय भए आफूले राजीनामा गर्ने बुधबार नुवाकोटमा औपचारिक रूपमा बताएकी छन् । त्यसैले उनको राजीनामाको विषय गौण छ ।


प्रधानमन्त्री ओली भैंसेपाटी भेलाको बलमा आफूमाथि दबाब दिने रणनीति नै गलत भएको भन्दै त्यस भेलामा सहभागी नेताहरूले गल्ती महसुस गर्नुपर्ने अडानमा छन् । तर दाहाललगायत भेला गर्ने नेताहरू भैंसेपाटी जमघटलाई सहज ठानिरहेका छन् । ओलीको पार्टीभित्र एकलौटी र अरूलाई लपेटेर लैजाने खालको प्रवृत्तिमाथि चुनौती दिन आफूहरूको जमघट सही भएको उनीहरूले अनौपचारिक रूपमा बताउने गरेका छन् । ‘अब केपी ओलीले जे भन्यो त्यो मात्र हुनुपर्छ भन्ने छैन, यो सन्देश उहाँले राम्ररी बुझ्नुपर्छ,’ सचिवालयका एक सदस्यले भने ।


पूर्वमाओवादी धारले पहिले सभामुख पद पाएको हुनाले अहिले पनि त्यही धारले दाबी गर्नुलाई वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल र गौतमले पनि स्वाभाविक ठानेका छन् । त्यसैले अध्यक्ष दाहालको पूर्वमाओवादी धारको सभामुख हुनुपर्छ भन्ने अडानमा थप बल मिलेको छ । त्यही कारण अध्यक्ष दाहाल सकेसम्म पछि नहट्ने मुडमा छन् । तर यो घटनाक्रमले पार्टीकै बदनाम र संसद् नै बन्धक बन्ने अवस्था आएकाले पार्टीभित्रका अन्य पद र भूमिका पनि पुनर्परिभाषित गरी नयाँ खालको भागबन्डा गरेर भए पनि सभामुखको लफडा तत्काल मिलाउनुपर्ने अन्य नेताहरूले अध्यक्षद्वयलाई बताउँदै आएका छन् ।

प्रकाशित : माघ २, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?