कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

‘धेरैलाई जिताइसक्यौं, कसैले हेरेन’

हरेक पटक परिवर्तनको आस गर्दै भोट दिने गरे पनि जितेर गएकाहरुले न्यून आय भएकाहरुबारे नसोचेको सर्वसाधारणको गुनासो
लिला श्रेष्ठ

काठमाडौँ — उमेर र शरीरमा शक्ति छउन्जेल भारीको वजन धेरै–थोरै भनेनन् । ढुंगा, इँटा, गिट्टी, बालुवा बोक्न काठमाडौं उपत्यकाका धेरै ठाउँ पुगे । यही बीचमा २ सन्तान पनि हुर्काए । मजदुरी गरेर जसोतसो हुर्काए पनि उनीहरूलाई पढाउन भने सकेनन् । नुवाकोट लिखुकी सावित्री थापा मगरले मजदुरी छाडेको ३ वर्ष मात्रै भयो । तर, अहिले पनि गुजाराका लागि उनीहरूका दुवै सन्तान ज्यामी काम गर्छन् ।

‘धेरैलाई जिताइसक्यौं, कसैले हेरेन’

‘कोरोना महामारी फैलियो । लकडाउन गरियो । हाम्रो रोजीरोटी गुम्यो । उमेरले काम गर्न पनि नसक्ने भइयो,’ ६४ वर्षीया सावित्रीले भनिन्, ‘अहिले भक्तपुरको गठ्ठाघर चोकमा साग र तरकारी बेचेर गुजारा चलिरहेको छ ।’ उनी तरकारी र साग लिन हरेक बिहान किसानको खेतबारीमै पुग्छिन् । डोकोभरि तरकारी बेचेर दिनमा ३/४ सय रुपैयाँ मात्रै कमाइ हुन्छ । तर, यही काम पनि निर्धक्कसँग गर्न नपाएको उनले गुनासो गरिन् । ‘आयस्रोत केही छैन । साग बेच्न बस्दा घरीघरी नगर प्रहरी आएर लखेट्छ । लुकीलुकी व्यापार गर्नु परिरहेको छ,’ उनले भनिन्, ‘साँझ–बिहानको कमाइले हातमुख जोड्नेहरूका लागि पालिकाले केही उपाय गरिदिए हुन्थ्यो ।’

चुनाव नजिकिँदै गर्दा अनेक आश्वासन दिने जनप्रतिनिधिले सधैं सास्ती मात्र दिएको बताउने उनी आसन्न निर्वाचनलाई लिएर पनि उत्साहित छैनन् । ‘अहिलेसम्म गरिबलाई बुझ्ने कोही आएनन्, अब आउने पनि उस्तै त होलान्,’ उनी भन्छिन्, ‘भोट हाल्ने इच्छै छैन ।’

सावित्रीका श्रीमान् अर्जुन ६६ वर्षका भए । उनी अझै पनि गठ्ठाघर चोक वरपर भारी कुरिरहेका भेटिन्छन् । महँगीले सर्वसाधारणको ढाड सेक्दासमेत नेताहरूले बजार अनुगमन तथा नियमनको प्रयाससमेत नगरेको उनको गुनासो छ । ‘निम्न आय भएकाहरूको पक्षमा कुनै पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधिले आवाज उठाएको छैन,’ उनले भने, ‘आफ्नो पार्टी, नातागोता र आफूलाई फाइदा हुने निर्णय गरेर गरिबलाई झन् गरिबीतिर धकेल्ने काम नेताले गर्दै आएका छन् ।’

गरिबको पक्षमा आवाजसमेत उठाउन नचाहने नेतालाई अब मत नदिने उनले अठोट लिएका छन् । ‘पटक–पटक मत दियौं, धेरैलाई जितायौं तर उनीहरू कसैले मन जित्ने काम गरेनन्,’ उनले भने, ‘हामीलाई गरी खान त दिएनन्, बरु लखेटेको लखेटै भने छन् ।’

मुलुकभर निर्वाचनको चहलपहल बढ्दा सर्वसाधारणमा भने खासै उत्साह देखिँदैन । हरेक पटक आशावादी हुँदै भोट दिए पनि जितेर गएकाहरूले जनताको भलो नसोचेको आम सर्वसाधरणको बुझाइ छ । त्यसैमध्येमा पर्छिन् सिन्धुपाल्चोक चौताराकी जानुका गिरी । उनले गठ्ठाघरमै ठेलामा तरकारी बेच्न थालेको डेढ दशक भयो । श्रीमान् बस चलाउँछन् । दुवैको कमाइले छोरा–छोरीको लालनपालन, पढाइदेखि घर खर्च धानेका छन् ।

अहिले मध्यपुर थिमि नगरपालिकाले अभियानकै रुपमा सडकपेटी खाली गर्ने, अनधिकृत संरचना हटाउनेलगायत काम गरिरहेको छ । पालिकाले विकल्पबिनै साना व्यवसायीलाई हटाएर सर्वसाधारणको रोजिरोटी खोसेको उनको भनाइ छ । बिहान–साँझ साग बेचेरै भए पनि जीविकोपार्जन गर्ने बाटो दिनुपर्ने उनको माग छ । ‘यसअघि पटक–पटक भोट हालेकै हो । गरिबलाई जहिल्यै उस्तै त हो, गरी खान पाए हुन्थ्यो,’ उनले भनिन्, ‘चुनाव, राजनीति, दलप्रति चासो छैन र आशा पनि छैन ।’

सावित्री, जानुका मात्र होइन्, साना व्यापारी, व्यवसायीमा दल र तिनका उम्मेदवारप्रति वितृष्णा बढ्दै गएको छ । निर्वाचित जनप्रतिनिधिले मतदाताको भावना अनुरुप काम गर्न नसक्नु, आफ्ना नातागोता र पार्टीप्रति आस्थाको आधारमा व्यवहार गर्नु, परिवर्तनको अनुभूति गराउन नसक्नुले निर्वाचनप्रति नै उत्साह घटेको समाजशास्त्रीहरू बताउँछन् । ‘निर्वाचनपछि भिजन भएको नेतृत्व पाउँछौं भन्ने आशा र भरोसा नभएकाले पनि अहिले निर्वाचनलाई जनताले खुशी र महत्वका साथ लिएको पाइँदैन,’ समाजशास्त्री सुरेन्द्र कोइरालाले भने, ‘घट्दो आर्थिकस्तर, लगातारको मूल्य वृद्धि र बेरोजगारीका कारण पछिल्लो समय दल र सरकारप्रति जनतामा वितृष्णा छाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७९ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?