चुनावी मैदानमा युवा उम्मेदवार : ४० वर्षमुनिका ३१ प्रतिशत

कार्तिक ४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा युवाको कानुनी उमेर १६ देखि ४० हो । निर्वाचन कानुनले उम्मेदवार बन्नका लागि २५ वर्ष पूरा भएको हुनुपर्ने तोकेको छ । उमेरको हिसाबले २५ वर्ष पुगेको हरेक युवा निर्वाचनमा उम्मेदवार बन्न योग्य हुन्छ । तर, प्रमुख राजनीतिक दलले युवालाई उम्मेदवार बनाएनन् । 

बरू उमेरले बुढ्यौली लागिसकेका नेताहरू चुनावी मैदानमा आफूलाई युवा उम्मेदवार दाबी गर्दै भोट मागिरहेका छन् । यथार्थमा युवा उम्मेदवारको अवस्था भने निकै टिठलाग्दो छ । आसन्न निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ३१ प्रतिशत यस्तै युवा उमेरका व्यक्तिहरू छन् । तर, तीमध्ये थोरै युवाहरू मात्रै प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएका छन् । 

एमालेका सात युवा उम्मेदवार

आसन्न निर्वाचनमा मुलुकभर अधिकांश क्षेत्रहरूमा सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनबीच प्रतिस्पर्धा छ । एमालेले ४० नकटेका सात जना नेताहरूलाई रणनीतिकरुपमा चुनावी मैदानमा उतारेको देखिन्छ । 

काठमाडौं क्षेत्र नं. १० मा एमालेका युवा नेता हिमेश केसी (३९) उम्मेदवार छन् । यहाँ प्रमुख दल एक्ला–एक्लै प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसले केन्द्रीय सदस्य राजन केसी र नेकपा माओवादी केन्द्रले पोलिटब्युरो सदस्य अञ्जना विशंखेलाई उम्मेदवार बनाएका छन् । केसी र विशंखुे दुवै जना यसअघि प्रतिनिधिसभा सदस्य थिए ।

०७४ मा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदासमेत कांग्रेसले जितेको यो क्षेत्रमा एमालेले फ्रेस क्याण्डिडेट दिएर रणनीतिक कदम चालेको देखिन्छ । युवा संघमा लामो समय राजनीति गरेका एमाले उम्मेदवार केसी हाल एमाले काठमाडौं जिल्ला कमिटी सदस्यमात्रै हुन् । 

एमालेले गोरखा–२ मा २९ वर्षे अब्दुस सलाम मियाँलाई उठाएको छ । जबकि यो क्षेत्र नेकपा माओवादी केन्द्रको गढ नै मानिन्छ । त्यसमाथि यसपटक यहाँबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैँ मैदानमा छन् । ०७४ मा यहाँबाट बाबुराम भट्टराईले चुनाव जितेका थिए । यसपटक भट्टराई आफैँ प्रस्ताव बसेर दाहाललाई उभ्याएका छन् भने नेपाली कांग्रेसले पनि समर्थन गरेको छ । केही महिना अघिसम्म बैकल्पिक राजनीति गर्दै आएका मियाँलाई एमालेले पार्टीमा भित्राएर यहाँबाट उम्मेदवार बनाएको हो । दुई दशकदेखि माओवादीको नेतृत्वमा रहेर दुई पटक प्रधानमन्त्रीसमेत भइसकेका दाहालसँग उनको आधाभन्दा कम उमेरका मियाँलाई एमालेले प्रतिस्पर्धामा उतारेको हो । 

एमालेले बारा–३ मा ज्वालाकुमारी साह (४०) लाई उम्मेदवार बनाएको छ । उनी पार्टीको पोलिटब्युरो सदस्य हुन् । यहाँ सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीका नेता लालबाबु सिंहलाई उम्मेदवार बनाएको छ भने जसपाबाट मधेस प्रदेश अध्यक्ष रामबाबुकुमार यादव उम्मेदवार छन् । 

मधेसकै अन्य क्षेत्रमा एमाले र जसपाबीच तालमेल भए पनि यहाँ भने एमाले र जसपासमेत मैत्रीपूर्ण प्रतिस्पर्धामा उत्रिएका छन् । जबकि यहाँ कांग्रेस र माओवादी केन्द्रको साथ लोसपाका उम्मेदवार सिंहको पक्षमा छ । उनी संविधानसभा सदस्य हुन् । जसपाका नेता यादव भने ०७४ मा यही क्षेत्रबाट निर्वाचित भएका थिए । माओवादी केन्द्रबाट एमालेमा भित्रिएपछि पार्टीमा छोटो समयमै पोलिट ब्युरोमा प्रवेश पाएकी साह र संसद्को अनुभव संगालिसकेका सिंह र यादवबीच यहाँ रोचक प्रतिस्पर्धा छ । 

त्यस्तै, मकवानपुर–२ मा एमालेले बागमती प्रदेश कमिटीका उपसचिव ४० वर्षे महेशकुमार बर्तौलालाई उठाएको छ । यहाँ सत्ता गठबन्धनबाट विरोध खतिवडा उम्मेदवार छन् । एमालेबाटै चार पटक चुनाव जितेका खतिवडा अहिले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका हुन् । एमालेले युवामाझ लोकप्रिय रहेका बर्तौलालाई अघि सारेर खतिवडालाई टक्कर दिएको छ । खतिवडाले एमालेबाटै ०४८, ०५१, ०५६ र ०७४ का निर्वाचन मकवानपुर–१ बाट जितेका थिए । यसपटक उनी सत्ता गठबन्धनबाट उम्मेदवार छन् ।  

एमालेले रोल्पामा ३६ वर्षे पूर्ण बुढामगरलाई उठाएको छ । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उम्मेदवार छन् । रोल्पा माओवादी केन्द्रको गढ नै मानिन्छ । एमालेले भने युवा उम्मेदवार दिएर संगठनलाई मजबुत पार्ने प्रयास गरिरहेको देखिन्छ । 

एमालेले बझाङमा ३८ वर्षे ऐनबहादुर महरलाई उठाएको छ । यहाँ सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी उम्मेदवार छन् । महर भ्रातृ संस्था अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष हुन् भने उनी हाल एमालेको केन्द्रीय सदस्य छन् । ०७४ मा यहाँ एमालेका भैरवबहादुर सिंहले चुनाव जितेका थिए । 

एमालेले कैलाली–३ मा गौरी शंकर चौधरी (४०) लाई उम्मेदवार बनाएको छ । यहाँ सत्ता गठबन्धनबाट कृष्णकुमार चौधरी उम्मेदवार छन् । ०७४ मा माओवादी केन्द्रबाट सुदुरपश्चिम प्रदेशसभा सदस्य निर्वाचित भएका गौरीशंकर प्रदेश सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत भएका थिए । पार्टी विभाजित हुँदा एमालेमै बसेका उनलाई अहिले एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो । 

कांग्रेसबाट तीन युवा उम्मेदवार

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि ४० नकटेका तीन जना उम्मेदवारलाई अघि सारेको छ । रौतहट–२ मा सत्ता गठबन्धनबाट ३५ वर्षे मोहम्मद फिरदोस आलम उम्मेदवार छन् । यहाँ एमाले–जसपा गठबन्धनबाट शैलेन्द्र साह उम्मेदवार छन् । पूर्वप्रहरी निरीक्षक फिरदोस कांग्रेसका पूर्वसांसद मोहम्मद अफ्ताब आलमका जेठा छोरा हुन् । 

कांग्रेसले २९ वर्षीय योगेश गौचन थकालीलाई मुस्ताङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । यहाँ एमालेले प्रेम तुलाचनलाई उठाएको छ । कांग्रेस उम्मेदवार थकाली पार्टीको महासमिति सदस्य तथा गण्डकी प्रदेश कार्यसम्पादन समितिका सदस्य हुन् । कांग्रेसले जिल्ला सभापति रहेका रोमी गौचन थकालीलाई टिकट दिएको थियो । तर उनले आफूले छोडेर छोरालाई अघि सारेका हुन् । 

यता कपिलवस्तु–३ मा कांग्रेसबाट अभिषेक प्रताप शाह (४०) उम्मेदवार छन् । यहाँ एमालेले मंगलप्रसाद गुप्तालाई उठाएको छ । शाह र गुप्ता पुरानै प्रतिस्पर्धी हुन् । ०७४ मा शाहले गुप्तालाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । 

माओवादी केन्द्रबाट छ युवा उम्मेदवार

नेकपा माओवादी केन्द्रले पनि देशभर जम्मा छ जना युवालाई मात्रै उम्मेदवार बनाएको छ । 

मोरङ–४ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका ३७ वर्षे अमनलाल मोदी उम्मेदवार छन् । यहाँ नेकपा एमालेले विनोदप्रसाद ढकाललाई उठाएको छ । ०७० को संविधानसभा सदस्य निर्वाचनमा २८ वर्षमै समानुपातिकबाट सांसद बनेका मोदीले ०७४ मा मोरङ–४ बाट चुनाव जिते, कांग्रेसका महेश आचार्य पराजित भए । उनी यसपटक फेरि चुनाव जितेर तेस्रो पटक संसद छिर्ने दौडमा छन् । 

माओवादी केन्द्रले सुनसरी–१ मा ४० वर्षे मुक्सामहाङ सुब्बालाई सत्ता गठबन्धनको उम्मेदवार बनाएको छ । यहाँ एमाले–जसपा गठबन्धनबाट जसपाका नेता अशोक राई उम्मेदवार छन् । ०७४ मा कांग्रेसको सहयोगमा चुनाव लडेका राई एमालेका जयकुमार राईसँग पराजित भएका थिए । अहिले उनी एमालेको सहयोगमा मैदानमा छन् । सुब्बा भने पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् । 

माओवादी केन्द्रले काठमाडौं–७ बाट ३६ वर्षे मानुषी यमि भट्टराईलाई उम्मेदवार बनाएको छ । यहाँ नेकपा एमालेबाट श्यामकुमार घिमिरे उम्मेदवार छन् भने रामवीर मानन्धरले बागी उम्मेदवारी दिएका छन् । जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ पनि उम्मेदवार छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी सुपुत्री मानुषीले युवालाई स्वदेशमै रोजगारीको ग्यारेण्टी गर्ने लगायत युवामैत्री एजेन्डासहित चुनावी मैदानमा उत्रिएकी छन् । 

माओवादी केन्द्रले जुम्लाबाट ३९ वर्षे गोमा गौतम कुँवरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । यहाँ नेकपा एमालेले रतननाथ योगीलाई उठाएको छ भने राप्रपाबाट ज्ञानबहादुर शाही उम्मेदवार छन् । ०७४ मा बामगठबन्धनबाट माओवादी केन्द्रका गजेन्द्रबहादुर महतले चुनाव जितेका थिए । त्यसबेला कांग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार १४९ मत पाएका थिए । यसपटक भने माओवादी केन्द्रले महतलाई पछि सारेर कुँवरलाई अघि बढाएको हो । ०७० मा संविधानसभा सदस्य बनेकी कुँवर त्यसबेला कृषि राज्यमन्त्री समेत बनेकी थिइन् । 

माओवादी केन्द्रबाटै कञ्चनपुर–१ मा ३८ वर्षे बीना मगर उम्मेदवार छन् । यहाँ नेकपा एमालेले तारा लामा तामाङलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रबाट मगरले ०७४ मा पनि मगरले नै चुनाव जितेकी थिइन् । तर, त्यसबेला उनी बामगठबन्धनकी उम्मेदवार थिइन् । यसपटक उनी सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी हुन् । 

प्रतिस्पर्धामा देखिएका युवा नेताहरूमध्ये नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (३९) पनि छिन् । उनी कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार छिन् । यो त्यही क्षेत्र हो, जहाँबाट रेशम चौधरीले आफ्नो अनुपस्थितिमै चुनाव जितेका थिए । टिकापुर घटनामा दोषी ठहर भएका चौधरी अहिले जेलमा छन् ।

उनकै सल्लाहमा खुलेको नागरिक उन्मुक्ति पार्टीबाट पत्नी एवम् पार्टी अध्यक्ष रञ्जिता कैलाली–१ बाट चुनावी प्रतिस्पर्धामा छिन् । यहाँ नेकपा एमालेले तपेन्द्रबहादुर रावललाई उठाएको छ भने सत्ता गठबन्धनमा नेपाली कांग्रेसबाट रामजनम चौधरी उम्मेदवार छन् ।

यो पनि

१७६६ युवा उम्मेदवार : प्रमुख दलबाट कति ?

कान्तिपुर

Link copied successfully