गाउँसम्म पुग्ने सडक कालो पत्र, सिँचाइ, खाने पानी, स्वास्थ्य उपचारलगायतको माग
रामेछाप — एकातिर नजिकिँदै गरेको तिहार, अर्कोतिर बाली भित्र्याउने चटारो । यी दुवै चटारोलाई पर सार्दै स्थानीय भने भोट माग्दै आइपुगेका उमेदवार भेट्न व्यस्त छन् । ‘बेसीमा धान पहेँलपुर भएको छ, नेता आउने थाहा पाएपछि दुई दिन धान काट्ने मेलो पर धकेलेर यता आएँ,’ सैंपुमा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका पूर्णबहादुर तामाङलाई भेट्न आएका सन्तबहादुर सुनुवारले भने ।
गाउँमा चाडबाड र खेतीपातीसँगै चुनावी चहलपहल पनि बढ्दो छ । खासमा स्थानीय कामै छोडेर उम्मेदवार भेट्न जानुका पछाडि एउटै कारण छ– विकासका केही कुरा राखौं ।
तामाङसँगको भेटमा सुनुवारले सैंपुमा हरेक वर्ष बर्खामा हुने सडक अवरुद्ध न्यूनीकरण गर्न, गाउँमा एम्बुलेन्सको व्यवस्था गरिदिन आग्रह गरे । यसअघि तामाङले आफ्नै खर्चमा जिल्लाका विभिन्न स्थानमा १३ वटा एम्बुलेन्स उपलब्ध गराएका थिए । उनी २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारसँग पराजित हुन पुगेका थिए । यो पटक उनलाई त्यही गठबन्धन फुटेर ब्युँतिएको माओवादी केन्द्रको साथ छ ।
निर्वाचन आचारसंहिताका कारण अहिल्यै चुनावी सभा गर्न मिल्दैन । छोटो समय भएकाले प्रचारका लागि एक पटक गाउँ पुग्ने नेताहरू दोहोर्याएर पुग्न भ्याउँदैनन् । त्यसैले घरदैलोमै आएका उम्मेदवारलाई आफ्ना दुखेसो सुनाउन पनि भेट्न गएको सुनुवारले सुनाए । घरदैलोका क्रममा तामाङको टोली शुक्रबार उमाकुण्डको बाम्ती पुग्यो ।
‘हामी एकैदिन एउटा मात्र होइन, साविकका ३ वटा गाविसमा घरदैलो गरिरहेका छौं,’ रामेछाप कांग्रेसका प्रवक्ता नारायणबहादुर बोगटीले भने, ‘यही कुदाकुदमा पनि उल्लेख्य मतदातासँग भेट भइरहेको छ ।’ उम्मेदवारसँगको भेटमा धेरै स्थानीयले आफ्ना क्षेत्रका समस्या सुनाउने गरेको उनले बताए । ‘चाडबाडको उल्लास र खेतीपाती थन्काउने चटारोमा पनि मतदातामा देखिएको उत्साह हेर्दा निर्वाचनको माहोल गाउँ पुगेको अनुभव भएको छ,’ उनले भने ।
चुनावी प्रचारमा निस्किएको एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेलले टोलीलाई पनि मतदाता भेट्न भ्याइनभ्याई छ । उनले सुनारपानीबाट घरदैलो थालेका थिए । अहिले उनको टोली साँघुटारमा छ । मेलापात गएका भए पनि आफूहरू पुग्दा स्थानीयले समय दिएको र आफ्ना समस्या सुनाएका उनले बताए । ‘सबैको अपेक्षा गाउँमा विकास हुनुपर्यो भन्ने छ । हामी त्यसकै लागि प्रयत्नरत छौं र आउने दिनमा पनि लागि पर्छौं,’ उनले भने ।
यसअघि उनी प्रदेशसभातर्फ क्षेत्र–२ बाट निर्वाचित भएका थिए । वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत बनेका उनी यस पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छानेका हुन् । उनी मतदातामाझ नयाँ अनुहार भने होइनन् । ‘हामीले मत माग्दै गाउँघर पुग्दा सडक कालोपत्रे, सिँचाइ, खानेपानी, स्वास्थ्यलगायतमा रहेका समस्याबारेमा मतदाताको चासो रहेको पायौं,’ एमाले नेता इन्द्रबहादुर तामाङले भने । यसअघि सडक बनेका स्थानमा बाह्रै महिना सवारी आवागमन हुने बनाउन धेरै मतदाताले माग गरेको उनले सुनाए ।
