सुध्रिएनन् वीर र ट्रमा

कोभिड अस्पताल बनाउने निर्णय गरेको ८ महिनाभन्दा बढी भए पनि उपकरण, जनशक्ति र पूर्वाधार थपिएन

जेष्ठ ३, २०७८

प्रशान्त माली

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरलाई कोभिड–१९ डेडिकेटेट अस्पताल बनाउने निर्णय गरेको ८ महिनाभन्दा बढी बित्यो । निर्णयअनुसार कोभिड बिरामीको उपचार गर्न अत्यावश्यक अक्सिजन सिलिन्डर, प्लान्ट जस्ता उपकरण, जनशक्ति, पूर्वाधारमा यतिबेला वीर र ट्रमा अग्रणी हुनुपर्ने हो ।

यी दुई नाम चलेका अस्पताल हाल आफैं बिरामी जस्तो देखिएको त्यहाँको अवस्थाले देखाउँछ ।

पाँच दिनअघि राति महावीर पुनले वीर र ट्रमा सेन्टरमा सिलिन्डर भए पनि फ्लो मिटरसहितको रेगुलेटर नभएर बिरामीलाई अक्सिजन दिन नसकिरहेको बारेमा सामाजिक सञ्जालमा पोस्ट गरे । तुरुन्त १०० वटा चाहिएको र रेगुलेटरको पैसा राष्ट्रिय आविष्कार केन्द्रले व्यहोर्ने भनी फेसबुकमार्फत आह्वान गरे । तत्कालै स्वयम्भूका एक जना व्यापारी सम्पर्कमा आए । उनीसँग खरिद गरेको ३५ वटा रेगुलेटर सोही राति अस्पताललाई उपलब्ध गराए । भोलिपल्ट अर्को ३५ वटा रेगुलेटर दिए । अहिले वीरलाई थप ५० वटा आवश्यक छ । तर, व्यवस्थापन गर्न न अस्पताल प्रशासनले सके न त स्वास्थ्य मन्त्रालयले नै । अस्पतालमा दैनिक मृत्यु हुनेमध्ये मुख्य कारण अक्सिजन अभाव रहेको आरोप छ ।

यहाँ नयाँ बिरामी भर्ना बन्द छ । अहिले ३०० बेडमा बिरामीको उपचार भइरहेको छ । यसका लागि दैनिक ४७ लिटरको ३०० सिलिन्डर आवश्यक छ । अस्पतालको अक्सिजन प्लान्टबाट १०० वटा सिलिन्डर मात्र उत्पादन हुन्छ । बाहिरी प्लान्टबाट १२० को हाराहारीमा आउँछ । दैनिक ८० वटा सिलिन्डर अपुग छ । अस्पतालको प्लान्टमा बेला/बेलामा खराबी आउने समस्या उस्तै छ । ४ सय बेड क्षमता भए पनि उपयोग हुन सकेको छैन ।

दैनिक १०/१२ जना आईसीयू चाहिने बिरामी फर्किरहेछन् । आईसीयू अभावका बेला एचडीयू सेवा प्रभावकारी मानिन्छ । तर, गत वर्ष कात्तिकमै एक सय बेडको एचडीयू सञ्चालनमा ल्याउने भने पनि आधा मात्र खरिद गरेको छ । आईसीयू थप्ने योजना पनि अलपत्र छ । हाल २१ वटा आईसीयू र २३ वटा भेन्टिलेटर छन् । वीरले संक्रमितको चाप वृद्धि भएकाले हेरचाह र उपचार गर्न वैशाख २४ मा १०० जना स्टाफ नर्स माग गर्‍यो । अहिलेसम्म आवेदन दिएका स्वास्थ्यकर्मीको बारेमा केही निर्णय भएको छैन । जनशक्ति अभावको कारणले शनिबार सर्वसाधारणसँग लिएको स्वाव परीक्षण हुँदैन । 

यहाँ ठूल्ठूला अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर जडान त परको कुरा अस्पतालमा ठाउँ/ठाउँमा राखिएको सेनिटाइजर सकेर फेर्न सकेको छैन । पीपीई अभाव उस्तै छ । पीपीई अहिले सहयोग स्वरूप आएको ५ सय बक्सबाट चलाइरहेको छ । अस्पतालका डाक्टर, नर्सलगायत कर्मचारी संक्रमित भएमा क्वारेन्टाइनको व्यवस्था छैन । अस्पताल जेनतेन रूपमा सञ्चालनमा छ । जिम्मेवार पदमा बसेका व्यक्तिहरू भने अस्पतालको कमजोरी नभई सरकारको भएको दाबी गर्छन् । वीर अस्पतालका निर्देशक शान्ता सापकोटा भन्छिन्, ‘कोभिड अस्पतालका रूपमा सञ्चालन गर्न आवश्यक सामग्रीको बारेमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेका छौं । मन्त्रालयबाट खासै समन्वय भइरहेको छैन ।’

उनले अहिले हारगुहार गरेर अक्सिजनको व्यवस्थापन गरेर अस्पताल सञ्चालन गरिरहेको बताइन् । ‘यस्तै स्थिति रहेमा सबै बिरामी एकैपल्ट कोल्याप्स हुन बेर छैन,’ उनले भनिन्, ‘अस्पतालको आधिकारिक अक्सिजन सप्लायर्स पनौतीको नवज्योति कम्पनी हो । तर, सेनाले लैजाने जस्ता समस्याका कारणले कम्पनीले सरकारले तोकेको कोटा अनुसार पनि अक्सिजन उपलब्ध गराउन सकेको छैन ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अस्पतालको ‘अक्षम’ नेतृत्वको कारणले वीरमा समस्या आएको बताए । ‘रेगुलेटर जस्ता सामान्य वस्तुको व्यवस्थापनसम्म मन्त्रालयले हेर्न सकिँदैन । उहाँहरूलाई निर्देशक, डिन र रेक्टर बनाएर पठाएको के काम भयो,’ उनले भने, ‘आवश्यक अक्सिजन सिलिन्डर, प्लान्ट खरिद गर्न मन्त्रालयले अधिकार दिइसकेको छ । टेन्डर आह्वान गरिराख्नुपर्दैन । बजेट पनि छ ।’ उनले निजी क्षेत्रलाई पनि मन्त्रालयले तोकेको स्वास्थ्य सामग्री खरिद गर्न भन्सार छुटको व्यवस्था गरिसकेको बताए । ‘मन्त्रालयले गाह्रो अप्ठ्यारो परेका बेला सहजीकरण मात्र गरिदिने हो,’ उनले भने, ‘प्रत्येक अस्पतालमा मन्त्रालयमा समन्वय गर्न एक जना छुट्टै कर्मचारी पनि व्यवस्था गरिसकेका छौं ।’

महावीर पुनले सरकारले अक्सिजन प्लान्ट, खोप, सिलिन्डर ल्याउन तत्काल पहल गर्नुपर्ने बताए । ‘जुन ल्याउन हामीले सक्दैनौं,’ उनले भने । वीरमा मात्र नभई ट्रमा सेन्टरको अवस्था पनि नाजुक छ । यहाँ पनि अक्सिजन सिलिन्डर अभाव त छँदै छ । जनशक्ति पनि दयनीय छ । अस्पताल प्रशासनका अनुसार डाक्टर १७ जना, नर्स १६०, ल्याब टेक्निसियन १९ र रेडियोग्राफर १५ जना कार्यरत छन् । अहिले आवश्यक १५० नर्स, ४० मेडिकल अधिकृत, १० ल्याब टेक्निसियन र १० रेडियोग्राफर छन् । त्यहाँ एचडीयू १५ वटा बन्नेक्रममा छ । ज्वरो क्लिनिक सञ्चालनमा छैन । अस्पतालमा कोभिड–१९ को दूषित हावा स्वच्छ बनाउने ‘नेगेटिभ प्रेसर मेसिन’ पनि छैन । मेसिन नहुँदा स्वास्थ्यकर्मी, कर्मचारी, बिरामीका आफन्तलगायत अस्पतालमा आउनेहरू जोखिम छन् । कोभिड– १९ का लागि खटिने जनशक्तिलाई तालिम पनि दिइएको छैन ।

ट्रमा सेन्टरका निर्देशक डा.सन्तोष पौडलले जनशक्ति थप्नेक्रममा रहेको बताए । ‘अस्पतालको १३ हजार लिटरको अक्सिजन उत्पादन गर्ने ट्याक छ । यो २ दिनका लागि मात्र पुग्छ । भारतबाट तरल अक्सिजन ल्याउन ५ दिन लाग्छ । अक्सिजन व्यवस्थापन गरिदिने बारेमा मन्त्रालयलाई पटकपटक जानकारी गराइसकेका छौं,’ उनले भने, ‘तर, मन्त्रालयका अधिकारीहरूले बेवास्ता गर्दा समस्या निम्तिएको हो ।’ उनका अनुसार अहिले १०० बेड अक्सिजन नभएर सञ्चालन छैनन् । ‘पूर्ण रूपमा अस्पताल सञ्चालनमा ल्याउन ४०० देखि ४५० सिलिन्डर आवश्यक छ,’ उनले भने ।

यसबीच स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधिसहितको टोलीले शनिबारबाट कोभिड बिरामीको उपचार र व्यवस्थापन बारेमा वीर र ट्रमामा अनुगमन सुरु गरेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.रामराज पन्थीको नेतृत्वमा गरेको अनुगमन टोलीमा मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम भुसाल र संगठनका प्रतिनिधि निरोज थापा छन् ।

मन्त्रालयका प्रशासक पन्थीले साता दिनसम्म निरन्तर अनुगमन गरिने बताए । ‘अस्पतालको समस्या बारेमा तत्काल सम्बन्धित निकायमा राखेर चाँडै समस्या समाधान गर्न पहल गरिनेछ,’ उनले भने, ‘दुवै अस्पतालमा धेरै सुधार गर्नुपर्ने देखिएको छ ।’ ट्रमा आईसीयू १०, भेन्टिलेटर १२ छन् ।

कोरोना भाइरस

प्रशान्त

Link copied successfully