कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिल्ड ड्युटीमा खटिने प्रहरीलाई विद्यालयमै ब्यारेक

भक्तपुर — विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीका लागि विद्यालयहरुमा ब्यारेक स्थापना गरिएको छ । 

फिल्ड ड्युटीमा खटिने प्रहरीलाई विद्यालयमै ब्यारेक

महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती र थिमिलगायतमातहतका कार्यालयमार्फत ड्यूटीमा खटिने प्रहरी कर्मचारीको सामाजिक दूरी कायम राख्न विद्यालयलाई प्रहरी ब्यारेकको रुपमा प्रयोग गरेको हो ।

भक्तपुर प्रहरी प्रमुख एसपी सबिन प्रधानका अनुसार नगरपालिकाहरुको समन्वयमा जिल्लामा कार्यरत करिब ६ सय जना प्रहरी कर्मचारीले विद्यालयको कक्षाकोठालाई ब्यारेकको रुपमा प्रयोग गरेको हो । प्रहरी कार्यालयहरुको सबै ठाउँमा भौतिक दूरी कायम गरेर खान मिल्ने मेस, सुत्न मिल्ने ब्यारेक, उपयुक्त शौचालय, बाथरुमको व्यवस्था सम्भव छैन । ‘सबैभन्दा ठूलो चुनौती हामी समूहमा बस्छौं,’एसपी प्रधानले भने,‘एक जना कोरोना संक्रमित भए युनिट नै संक्रमण हुने अवस्था छ । संक्रमणको जोखिम न्यूनीकरणका लागि सामुदायिक विद्यालयहरुको कक्षाकोठा ब्यारेकको रुपमा चलाएका छौं ।’

भएको जनशक्तिलाई सुरक्षित रुपमा परिचालन गर्न र भौतिक दूरी कायम गर्न ९ वटा विद्यालय, सीटीईभीटीको कार्यालय र चाँगुनारायण नगरपालिका–२ वडाको नयाँ कार्यालय भवनलाई ब्यारेकको रुपमा प्रयोग गरेको प्रहरीले जनाएको छ । जसमध्ये, महानगरीय प्रहरी परिसर भक्तपुर मार्फत खटिने १सय ८० प्रहरी कर्मचारीलाई विद्यार्थी निकेतन मावि र शारदा माविमा ब्यारेक बनाइएको छ ।

महानगरीय प्रहरी वृत्त जगातीमार्फत खटिने १ सय ६० प्रहरीलाई आदर्श आजाद मावि भेलुखेल, प्रभाव कटुञ्जेका ३० प्रहरीलाई सुवर्णेश्वर मावि, प्रभाग दधिकोटका १२ प्रहरीलाई अरनिको मावि दधिकोट, प्रभाग बालकोटका ३६ प्रहरीलाई पुरानो प्रभागको भवनमा, प्रभाग दरबार स्क्वायरका २० प्रहरीलाई पद्म माविको कक्षाकोठामा, प्रभाग सुडालका १५ प्रहरी कर्मचारीलाई चाँगुनारायण–८ महेन्द्र माविमा ब्यारेक स्थापना गरेर व्यवस्थापन गरेको जनाएको छ । त्यसैगरी, महानगरीय प्रहरी प्रभाग सानोथिमिका २६ प्रहरी कर्मचारीलाई सिटीईभिटीको कार्यालय र प्रभाग दुवाकोटमार्फत खटिने १८ प्रहरी कर्मचारीलाई चाँगुनारायण–२ वडा कार्यालयको नयाँ भवनमा अस्थायी ब्यारेक बनाइएको छ ।

४६ पीसीआर रिपोर्ट नेगेटिभ

भक्तपुरमा कार्यरत ४६ जना प्रहरी कर्मचारीको कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट नेगेटिभ आएको छ । उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवामा खटिँदै आएका प्रहरी कर्मचारीको ‘नोजल स्वाब’ को नमुना कोरोना भाइरस परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको भक्तपुर प्रहरी प्रमुख एसपी सबिन प्रधानले बताए । १ सय ६३ प्रहरीको आरडीटी परीक्षण गराएको थियो ।

प्रकाशित : जेष्ठ १९, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?