‘एलईभी–०१’ को अल–ह्वील ड्राइभ मोडेल तयार

असार १९, २०८२

कान्तिपुर संवाददाता

All-wheel drive model of 'LEV-01' ready

काठमाडौँ — चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी एलएस अटोले आफ्नो पहिलो मोडेल ‘एलईभी–०१’ को अल–ह्वील ड्राइभ मोडेल तयार पारेको छ । उक्त मोडेललाई ‘एलईभी–एक्स’ नाम दिएर नेपाली बजारमा बिक्री गरिने कम्पनीले जनाएको छ।

एलएस अटोको आधिकारिक विक्रेता नेक्सन भेन्चरले एलईभी–एक्स आगामी महिना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा लन्च गरिने जानकारी दिएको छ । नयाँ अल–ह्वील ड्राइभ मोडेल अहिले बजारमा उपलब्ध ‘एलईभी–०१’ कै बडी डिजाइनमा आउनेछ । बाहिरबाट हेर्दा उस्तै देखिए पनि भित्री फिचर भने फरक हुने कम्पनीको दाबी छ ।

एलईभी–एक्समा अगाडि र पछाडि गरी १९८ किलोवाट क्षमताको ड्युअल मोटर सेटअप प्रयोग गरिएको छ । साथै, यसमा १० किलोवाट–आवर बढी क्षमताको ब्याट्री प्रयोग भएको कम्पनीले जनाएको छ। जहाँ एलईभी–०१ मा ६७ किलोवाट–आवरको ब्याट्री प्रयोग गरिएको थियो, त्यहाँ एक्स मोडेलमा ७७ किलोवाट–आवरको ब्याट्री राखिएको छ।

कम्पनीका अनुसार एलईभी–एक्स को इन्टेरियरमा पनि केही परिवर्तन गरिएको छ। नयाँ अल–ह्वील ड्राइभ ईभीमा एसी भेन्ट र इन्टेरियर डिजाइन अपडेट गरिएको जनाइएको छ । सेग्मेन्टमै धेरै, २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको एलईभी–एक्स मा अल–ह्वील ड्राइभ फिचर थपिएपछि अफ–रोडमा पनि ढुक्कसँग चलाउन सकिने कम्पनीको दाबी छ।

कान्तिपुर संवाददाता

Link copied successfully