काठमाडौँ — एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा २ नयाँ मोडल लञ्च गर्ने भएको छ । नेक्सन भेन्चरले ‘एलईभी ०५’ र ‘एलईभी एक्स’ गरी दुई नयाँ मोडल ल्याउने भएको हो । अगामी साउन २१ बाट २५ सम्म काठमाडौंको भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो आयोजना हुनेछ । कम्पनीले नाडा अटो शो २०२५ मा समेत सोही विद्युतीय सवारी (इभी) प्रदर्शन गर्ने योजना बनाएको छ ।
एलईभी ०५ प्रिमियम हृयाचब्याक सेग्मेन्टका इलेक्ट्रीक कार हो । यसको लम्बाइ ४२०० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१० एमएम छ । यो कारमा २६५० एमएम लामो ह्वीलबेस रहेको छ । १७ इन्चको अलोय ह्वील रहेको एलईभी ०५ मा १७५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । एलईभी ०५ लाई कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरमा ल्याउने छ । यो यसको अधिकतम टर्क १८० न्युटन मिटर छ ।
यो कारमा सेग्मेन्ट फस्ट सबैभन्दा ठूलो साइजको ब्याट्रीप्याक रहेको छ । एलईभी ०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले सिंगल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेञ्ज दिन्छ । यो कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ ।
नेक्सन भेन्चरले लन्च गर्न लागेको अर्को मोडल एलईभी–एक्स हो । क्रसओभर एसयूभी डिजाइनको इभी यस अघिनै नेपाली बजारमा बिक्री भईरहेको एलईभी ०१ को फोर हृवील ड्राइभ भर्सन हो ।
एलईभी एक्समा मोटर पावरको साथै फ्रन्ट र रियर गरी २०० किलोवाटको मोटर रहने छ । यसमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहनेछ । एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएको छ । साथै यसको फ्रन्टमा हाइड्रोलिक बोनेट र थप लगेज स्टोरेजको लागि फ्रङ्स समेत थपिएको छ । नेक्सन भेन्चरले एलएस अटोको नयाँ शोरुम तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि संचालनमा ल्याएको छ ।
