काठमाडौँ — चीनको कार निर्माता समूह चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंगमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय न्यु इनर्जी भेहिकल (एनईभी) प्लान्टबाट औपचारिक रूपमा कार निर्माण सुरु गरेको छ । कम्पनीको ‘भास्ट ओसियन प्लान’ नीतिअन्तर्गतको उक्त कार निर्माण प्लान्टले महत्त्वपूर्ण कोसेढुंगा पार गरेको हो ।
कम्पनीका अनुसार रायोंग प्लान्टमा आधुनिक उत्पादन, रिसर्च एन्ड डेभलपमेन्ट र दीर्घकालीन सप्लाई चेन छ । जहाँबाट चांगानको ग्रिन र स्मार्ट कारको उत्पादन तथा विश्वव्यापी अपरेसन पनि हुने कम्पनीको भनाइ छ । यसबाट उत्पादन भएका कारको बिक्रीवितरण दक्षिणपूर्व एसिया, मध्यपूर्व र अफ्रिका, मध्य र दक्षिण अमेरिकाका बजारमा हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा छ । यो प्लान्टको क्षमता हाललाई वार्षिक एक लाख युनिट छ भने सन् २०२७ सम्ममा वार्षिक दुई लाख युनिट पुर्याइने कम्पनीको दाबी छ । तीन लाख ९२ हजार वर्गमिटरमा फैलिएको रायोंग प्लान्टमा वेल्डिङ, पेन्टिङ, एसेम्ब्ली, इन्जिन र ब्याट्री उत्पादन गरी पाँच वर्कसप छन् । प्लान्टबाट चांगान, दिपल र अवतार ब्रान्डका ईभी उत्पादन हुनेछ ।
