कोशी नदीमा बहाव बढ्दो, भारतीय प्राविधिक टोलीद्वारा पूर्वी तटबन्ध निरीक्षण

रेड अलर्ट जारी भएपछि भारतीय जल संसाधन विभागका प्राविधिकसहितका टोलीले कोसी नदीको पूर्वी तटबन्धको निरीक्षण गरेका छन् ।

आश्विन १८, २०८२

विद्यानन्द राम

सप्तरी — अविरल वर्षाले सप्तकोशी नदीमा शनिबार बेलुका पानीको बहाव १ लाख ४ हजार क्यूसेक नाघेको छ । नदीमा दिउँसो ४ बजे पानीको बहाव १ लाख २ हजार ३५ स्यूसेक मापन गरिएको थियो । त्यसयता पानीको बहाव वृद्धि भइरहेको छ ।  

बेलुका ६ बजे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ४ हजार ६ सय ६५ क्यूसेक पुगेको हो । अहिले ५६ मध्ये १४ वटा ढोका खुला गरिएको ब्यारेज प्रशासनले जनाएको छ ।

ब्यारेजस्थित सशस्त्र प्रहरीले माइकिङ गर्दै नदी किनारमा नजान आग्रह गरिरहेको छ । माछा मार्न, दाउरा टिप्न र अनावश्यक रूपमा नदी किनारमा नजान माइकिङ गरिरहेको सशस्त्र प्रहरीका डीएसपी विकास अधिकारीले जानकारी दिए ।

यता, सप्तरी प्रशासनले नदी तथा खोला आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको छ । ‘तत्कालै जिल्लाका नदी तथा खोलाहरुमा समान्य बाढी देखिएपनि आसपास बसोबास गर्नेहरूलाई तीन दिनसम्म सतर्कता अपनाउन जरुरी छ,’ प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले भने, ‘वर्षाले बाढी पहिरोको जोखिम देखिएकोले अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध छ ।’

बाढीबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उद्धार टोली पनि तयार अवस्थामा राखिएको प्रजिअ पोखरेलको भनाइ छ ।

भारतीय प्राविधिक टोलीद्वारा पूर्वी तटबन्ध निरीक्षण

रेड अलर्ट जारी भएपछि भारतीय जल संसाधन विभागका प्राविधिकसहितका टोलीले कोसी नदीको पूर्वी तटबन्धको स्थल निरीक्षण गरेका छन् । शनिबार उनीहरूले तटबन्धको स्थिति, गत वर्ष क्षति पुगेका तटबन्ध मर्मतपछिको अवस्थालगायतका विषयमा निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि सुपौल सदर अनुमण्डलका पदाधिकारी (एसडीएम) इन्द्रवीर कुमारले बराह क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना देखिएकोले ‘अलर्ट मोड’मा बस्न कर्मचारीलाई निर्देशन दिए । ‘जल संसाधन विभागले जोखिमलाई ख्याल गर्दै तटबन्धलाई सुरक्षित राख्न ठाउँ–ठाउँमा निर्माण सामग्री भण्डारण गरिसकेको छ,’ उनले भने, ‘प्राविधिक र कामदारलाई पनि ‘अलर्ट मोड’मा राख्नू ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully