गठबन्धनका नेता स्वतन्त्र उठाएर मत माग्दै

सर्लाहीमा गठबन्धनका उम्मेदवारविरूद्ध माओवादीका ८ नेताको चुनौती, बागी उम्मेदवारी दिनेलाई पार्टीबाट निष्कासन

कार्तिक ५, २०७९

ओमप्रकाश ठाकुर

सर्लाही — सत्ता गठबन्धन दलका नेताहरूले बागी उम्मेदवारको पक्षमा खुलेरै मत माग्न थालेका छन् । सर्लाहीमा गठबन्धनविरुद्ध आठ जना माओवादीका नेताले प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवारी दिएका छन् । गठबन्धनका अन्य दलबाट भने बागी उम्मेदवारी परेको छैन । कतिपय स्थानमा आन्तरिक त कतै खुलेर नै बागीको पक्षमा माओवादीका नेताहरूले मत माग्न थालेका छन् । 

सर्लाही क्षेत्र–१ को (१) मा रामचन्द्र कुशवाहा र २ मा राजनकुमार श्रेष्ठ सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका छन् । यी दुवै माओवादी केन्द्रका नेता हुन् । उनीहरूलाई भित्रभित्रै माओवादी नेताहरूले सहयोग गरिरहेका छन् । यस्तै क्षेत्र–३ को (१) मा जवाहर कुशवाहा बागी उम्मेदवार बनेका छन् । लामो समयसम्म कांग्रेसमा लागेका कुशवाहा केही दिनअघि मात्र माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

आफूलाई माओवादीमा प्रवेश गराउने जिल्लाका नेताको साथ पाएर कुशवाहाले उम्मेदवारी दिएका हुन् । बागी उम्मेदवारी दर्ताकै समयमा पनि कुशवाहाका साथमा माओवादीका नेताहरू उपस्थित थिए । यति मात्र हैन, बागी कुशवाहाको पक्षमा मत माग्नसमेत त्यस क्षेत्रका माओवादीका नेताहरू लागिपरेका छन् । उनीहरू गठबन्धनकै बिरुद्धमा ओर्लिएका छन् । 

वाग्मती नगरपालिकाका प्रमुख भरत थापा खुलेरै बागी उम्मेदवारको पक्षमा लागेका छन् । माओवादीबाट नगर प्रमुखमा निर्वाचित उनले सार्वजनिक रूपमै क्षेत्र–३ को प्रतिनिधिसभामा गठबन्धनमा रहेको माओवादीबाट टिकट पाएका नेतासहित प्रदेशसभाका लागि बागीमा रहेको कुशवाहालाई मत दिन कार्यकर्तालाई आग्रह गरिरहेका छन् । थापाले प्रदेशमा गठबन्धनलाई मत नदिन पनि आग्रह गरेका छन् । गठबन्धनबाट प्रदेशमा नेकपा एसले टिकट पाएको छ । एसका तर्फबाट निवर्तमान प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले उम्मेदवारी दिएका हुन् । 

गठबन्धनमा सघाउनुपर्नेमा बागीलाई काखी च्यापेर नेताहरू हिँड्नुले यसको औचित्यमाथि प्रश्नचिह्न उठिरहेको उम्मेदवार उप्रेतीले बताए । उनले माओवादीको यस्तो व्यवहारले सहमतिभन्दा धोकाधडीको राजनीति भइरहेको आरोप लगाए । तर पनि शनिबारसम्ममा बागी उम्मेदवार फिर्ता हुने आशामा उप्रेती छन् । ‘गठबन्धनमा आबद्ध सबै दलले एकअर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने समयमा एक पक्षले बागी उठाएर प्रचारप्रसारमा हिँडिरहेका छन्, यसले गठबन्धनमाथि नै प्रश्नचिह्न खडा भएको छ,’ उनले भने, ‘केन्द्रले गरेको निर्णय सबै दलका लागि मान्य हुनुपर्ने हो, तैपनि बागीले उम्मेदवारी फिर्ता लिन्छन् कि भन्ने विश्वासमा छु ।’ 

निर्वाचन आयोगले नै स्थानीय तहका जनप्रतिनिधिलाई चुनावमा कुनै पनि उम्मेदवारको पक्षमा नलाग्न निर्देशन दिएको छ । तर त्यो निर्देशनको पालना सर्लाहीमा हुन सकेको छैन । प्रचारप्रसारबारे नगर प्रमुख थापासँग पटक–पटक बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । क्षेत्र–४ मा प्रतिनिधिसभा सदस्यतर्फ माओवादी केन्द्रकी मधुमाला यादवले पनि बागी उम्मेदवारी दिएकी छन् । यादव रातो पासपोर्ट काण्डमा मुछिएका शिवपुजन रायकी छोरी हुन् । त्यहाँ गठबन्धनले नेपाली कांग्रेसलाई टिकट दिएको छ ।

कांग्रेसबाट उम्मेदवार रहेका नागेन्द्रकुमार रायले सार्वजनिक रूपमै माओवादीले गठबन्धन तोडेको आरोप लगाए । उनले गठबन्धन भएका बेला रायसँग गरिएको संवाद पनि कार्यकर्तालाई सुनाइरहेका छन् । उम्मेदवार नागेन्द्रले शिवपुजनले आफूलाई धोकासमेत दिएको दाबी गरे । ‘माओवादी नेता शिवपुजन रायले गठबन्धनका तर्फबाट पहिले मलाई संघीय सांसदमा उम्मेदवारी दिन प्रस्ताव गरे, टिकट पाएपछि रायले आनै छोरीलाई मेरोविरुद्धमा उम्मेदवारी दर्ता गर्न लगाए,’ उनले भने, ‘यो गठबन्धनको नाममा धोका हो ।’ 

यस्तै क्षेत्र–४ को (१) मा माओवादी केन्द्रका प्रितमकुमार यादव र क्षेत्र–४ कै (२) मा श्रीचन यादव, महेन्द्र यादव र अनिता यादवले बागी उम्मेदवारी दिएका छन् । उनीहरू पनि माओवादीकै नेता हुन् ।

माओवादीका जिल्ला अध्यक्ष कमल बुढाथोकीले गठबन्धनमा माओवादीका तर्फबाट केही समस्या देखिएको बताए । उनले पार्टीका तर्फबाट अलि बढी नै बागी रहेको स्वीकार गरे । त्यस्ता उम्मेदवारलाई पार्टीले कारबाही गरिसकेको भन्दै बुढाथोकीले अन्य नेताले सहयोग गरेमा शनिबार हुने पार्टीको बैठकले केही निर्णय गर्न सक्ने बताए । ‘बागी उम्मेदवार पार्टीबाट निष्कासित भइसकेका छन्, उनीहरू अब हाम्रा रहेनन्,’ उनले भने, ‘बागीलाई सहयोग गर्ने नेताको बारेमा भोलि केही निर्णय आउँछ ।’

ओमप्रकाश

Link copied successfully