विवाद भएपछि महोत्तरीको बलवामा प्रहरीद्वारा हवाई फायर

वैशाख ३०, २०७९

सुनिता बराल

काठमाडौँ — महोत्तरी बलवा नगरपालिकाको महावीरस्थित मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ । मतदान केन्द्रमा खटिएका प्रहरी र राजनीतिक दलका कार्यकर्ताहरुबीच विवाद बढेपछि स्थिति नियन्त्रण लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ ।

मतदान केन्द्रमा अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गर्न नरोकेको विषय राजनीतिक दलका प्रतिनिधिहरुले प्रश्न  उठाएपछि विवाद सरु भएको थियो । 

शुक्रबार औरही, बर्दिवास, गौशाला नगरपालिकाको एक-एक वटा मतदान केन्द्रमा विवाद हुँदा केही समय मतदान समेत अवरुद्ध भएको थियो । गौशालामा बिसहरपुर मतदान केन्द्रमा निर्वाचन अधिकृतले जनता सामाजवादी पार्टी (जसपा)का समर्थकलाई दोहोरो मतपत्र दिएको भन्दै विवाद भएको थियो । विवाद सुरु भएपछि मतदान स्थगित गरिएको थियो ।

बर्दिबासमा पानी परेपछि कोठाभित्र मतपेटिका लैजाने विषयमा विवाद हुँदा केही समय मतदान स्थगित भएको थियो । त्यसैगरी औरही नगरपालिका २ मा श्रीपुर मतदान केन्द्रमा कांग्रेस उम्मेदवारले मतदातालाई धम्क्याए भन्दै विवाद भएको थियो । 

शुक्रबार दिउँसो महोत्तरीमा हावाहुरी र पानी परेपछि केही समयमा केन्द्रमा मतदान रोकिएको थियो भने केहीमा कोठाभित्र मतपेटिका राखेर मतदान गरिएको थियो ।  

अहिले पनि यहाँका केही स्थानीय तहमा मतदान जारी छ ।

स्थानीय तह निर्वाचन २०७९

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully