वीरगन्ज — पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरमा सोमबार राति करिब १ बजे नगर प्रमुखका एक उम्मेदवार सहयोगीसहित पुग्दा झडप भएको छ । झडपमा परी एक जनाको हात भाँचिएको छ ।
कांग्रेसबाट बहुदरमाईको प्रमुख पदका उम्मेदवार निवर्तमान नगर प्रमुख नितेन्द्र साहले २ जना समर्थकसहित विश्रामपुरको भंगी साह उच्च माध्यमिक विद्यालयको मूल गेट नजिकै रहेको खाजा पसलमा मान्छे बोलाएर भेट्न थालेपछि स्थानीयले होहल्ला गरेका थिए ।
झडपमा विश्रामपुरका अनुज पटेल हात भाँचिएको छ । ‘साहले नजिकैको शिव टोलबाट आफ्ना थप समर्थक बोलाए,’ पटेल भन्छन्, ‘त्यसपछि झडप भएको थियो ।’ साह र उनका समर्थक चढेका गाडी स्थानीयले तोडफोड गरेका छन् । झडपको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । साहसँगै गैरसरकारी संस्था समन्वय समिति (एनजीओसीसी) पर्साका अध्यक्ष इब्राहिम देवान, विनोद रौनियार थिए । दुई दिनअघि मात्र बहुदरमाई–२ सिसियाडीमा साह र वडाध्यक्षका उम्मेदवार जितेन्द्र पटेललाई स्थानीयले घेरा हाली नाराबाजी गरेका थिए । राति गाउँमा आएर पैसाको प्रलोभनमा मतदाता प्रभावित पार्न खोजेको भन्दै स्थानीयले साह र पटेलको विरोध गरेका थिए ।
एमालेबाट नगर प्रमुख उम्मेदवार शिव पटेलले पटक–पटक निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि सरोकारवाला निकायले चासो नलिएको गुनासो गरे । आचारसंहिता अनुगमन समिति पर्साका संयोजक धर्मराज पौडेलले बहुदरमाईमा राति भएको दोहोरो झडपको जानकारी आफूलाई नआएको बताए ।
एमालेबाट वीरगन्ज महानगर प्रमुख उम्मेदवार विजयकुमार सरावगी सोमबार राति वीरगन्ज–१६ नगवामा कांग्रेसका नेताको घरमा पुग्दा तीन घण्टा तनाव भएको छ । सरावगी कांग्रेस नेता विनोद चौरसियाको घरमा आएको थाहा पाएपछि स्थानीय अर्को समूहले घर घेरा हालेर नाराबाजी गरेका थिए । सहयोगीको मोटरसाइकलमा राति करिब साढे ११ बजे सरावगी चौरसियाको निवासमा पुगेका थिए । अर्को पक्षले घर घेरा हाली नाराबाजी गरेपछि सुरक्षाकर्मी पुगेका थिए । बिहान ३ बजे प्रहरीले सरावगीलाई उद्धार गरेको थियो ।
पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गएराति महानगर प्रमुख पदका उम्मेदवार सरावगीलाई उद्धार गरी घर पुर्याएको बताए । सरावगीले आफू मत माग्न मतदाताको घरमा गएका बेला विपक्षी दलका उम्मेदवार र तिनका कार्यकर्ताले गुन्डागर्दी शैलीमा होहल्ला गरेर चुनावी स्टन्ट गरेको आरोप लगाए । ‘विपक्षी उम्मेदवार पनि रातघरि घुम्छन् । तर, हाम्रा कार्यकर्ताले अराजक गतिविधि देखाएका छैनन्,’ उनले भने । जसपाबाट महानगर प्रमुखका उम्मेदवार राजेशमान सिंहले नगवा प्रकरणमा जसपाको कार्यकर्ता संलग्न नरहेको दाबी गरेका छन् ।
