१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

आश्वासन दिन्छन्, मतदातालाई सुन्दैनन्

उम्मेदवारसँग किसान लक्षित ठोस कार्यक्रम छैनन्
लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फिदिम नगरपालिका–४ की रुक्मिणा खनाल १५ दिनदेखि मकै छर्न व्यस्त छिन् । उनीसँग भोट माग्न दैनिक दुई–तीन हूल नेता–कार्यकर्ता बारीमै पुगे । यो गर्छौं, त्यो गर्छौं भनेर आफ्ना कुरा सुनाउँदै भोट मागे तर दुःखसुख, सन्चो–बिसन्चो र किसानका आवश्यकताबारे सोध्ने उम्मेदवार एक पनि आएनन् ।

आश्वासन दिन्छन्, मतदातालाई सुन्दैनन्

‘मत माग्नेहरू जिते पछि भीरपाखा सम्याइदिन्छौं भन्दै आए, खुट्टा नै ढोगुँलाझैं गर्छन्, पछि फर्केर आउँदैनन्,’ उनले भनिन्, ‘नमस्कार फर्काउनु त परै जाओस् देख्दा पनि नदेखेझैं गर्छन् ।’

२०३६ देखि भोट खसाल्न थालेका फिदिम–४ कै बलबहादुर तामाङको अनुभव पनि रुक्मिणाको जस्तै छ । पटक–पटक भोट दिएका उनी निर्वाचन अगाडि आश्वासनको पोको बोकेर आउनेहरू पदमा पुगेपछि आफ्नै वृत्ति विकासमा लाग्ने गरेको उनले बताए । ‘धान, मकै, कोदो आदि बालीनालीमा मल बीउको अभाव हुन्छ, हुर्कंदै जाँदा रोगकिरा र जंगली जनावरले दुःख दिन थाल्छन्, पाकेपछि भण्डारण, प्रशोधन र बजारीकरणका समस्याबारे कुनै पनि उम्मेदवारले सम्बोधन गर्दैनन्,’ तामाङले भने ।

बारीमा गोरु नारेर जोत्दै मकै छरिरहेका स्थानीय छवि खनालको अनुभव पनि अन्य किसान जस्तै छ । ‘सहुलियत र अनुदानसँगै जंगली जनावर धपाउने यन्त्र, उपकरण र प्राविधिक सहयोग चाहिन्छ,’ उनले भने, ‘तर कुनै दलका घोषणापत्रमा स्पष्ट रूपमा यस्ता कार्यक्रम समेटिएका छैनन् ।’ रुक्मिणा, बलबहादुर र छवि मात्रै होइन, आठवटा स्थानीय तह रहेको पाँचथरका ६० वटै वडाका मतदातालाई उम्मेदवारले एकोहोरो आफ्ना मात्रै एजेन्डा सुनाउँदै छन् तर मतदाताबाट राय सुझाव लिनेको संख्या शून्यप्रायः छ ।

उम्मेदवारले घोषणापत्रमा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको दाबी गर्छन् । घोषणापत्रअनुसार विपन्न, अल्पसंख्यक र पछाडि पारिएका वर्गको उत्थान गर्छौं भन्दै भोट माग्न निस्केका उम्मेदवारसँग किसान लक्षित ठोस कार्यक्रम छैनन् । करिब २ लाख जनसंख्या भएको पाँचथरमा १ लाख ४० हजार मतदाता छन् । प्रायः कृषि पेसामै आबद्ध छन् । उम्मेदवार बनेकामध्ये धेरैको पृष्ठभूमि कृषि भए पनि घोषणापत्रमा कृषि व्यवसाय प्रवर्द्धनलाई प्राथमितामा राखेका छैनन् । जिल्लाभर ८ सय ५४ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित : वैशाख २८, २०७९ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?