कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकाका सबै केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कर्मचारी र सुरक्षाकर्मी पनि खटाइयो, तीनै जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । मतदाता परिचयपत्र, मतपेटिकालगायत निर्वाचनमा चाहिने ५८ प्रकारका सामग्रीसहित मतदान अधिकृतसहितका कर्मचारी उपत्यकाका तीनवटै जिल्लाका प्रत्येक निर्वाचन केन्द्रमा खटिएका हुन् ।

उपत्यकाका सबै केन्द्रमा पुग्यो निर्वाचन सामग्री

भक्तपुरमा कुल १ हजार ९८ जना कर्मचारी मतदान केन्द्रमा खटिएका जिल्ला निर्वाचन कार्यालय प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार जिल्लाभर ७७ मतदाता स्थलमा २१९ मतदान केन्द्र तोकिएको छ । प्रत्येक केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी, सहयोगी कर्मचारी र ३ स्वयंसेवक गरी ८ जना कर्मचारी खटाइएको छ । ‘पाँच सयभन्दा बढी मतदाता भएको केन्द्रमा मतदान अधिकृतसहित ५ जना कर्मचारी र ३ स्वयंसेवक खटिनुभएको छ,’ उनले भने, ‘भक्तपुरका सबै मतदान केन्द्रमा ५ सयभन्दा बढी नै मतदाता हुनुहुन्छ ।’

मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरण गर्ने, मतदाता शिक्षा दिने र मतदान केन्द्र निर्माण गरी निर्वाचनको तयारी गर्नेछन् । जिल्लाका ४ स्थानीय तहमा ९७ हजार ३ सय १४ महिला, ९२ हजार २ सय ६५ पुरुष र अन्य ५ सहित १ लाख ८९ हजार ५ सय ८४ मतदाता छन् । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रहरूमा ५१५ नेपाल प्रहरी, २०३ सशस्त्र प्रहरी, ७७० म्यादी प्रहरी र नेपाली सेना परिचालन भइसकेका छन् ।

जिल्ला निर्वाचन कार्यालय ललितपुरकी निर्वाचन अधिकृत गोमा धमला घिमिरेले शुक्रबार हुने स्थानीय तह निर्वाचनको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताइन् । जिल्लाका ६ स्थानीय तहमा १ लाख २४ हजार ९ सय ५० महिला, १ लाख १८ हजार ९ सय ३३ पुरुष र अन्य १ सहित २ लाख ४३ हजार ८ सय ८४ मतदाता छन् । १३१ मतदानस्थलका २८८ केन्द्रमा १ हजार ४ सय ४० कर्मचारी निर्वाचन सामग्रीसहित खटिइसकेका उनले जनाइन् । ‘जिल्लाको ग्रामीण भेगका मतदान केन्द्रमा सोमबार नै निर्वाचन सामग्री पुगेर निर्वाचनको तयारी भइरहेको छ,’ उनले भनिन् ।

काठमाडौं जिल्लामा पनि आसन्न निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौं महानगरपालिकासहितका ११ वटै स्थानीय तहका मतदान केन्द्रमा कर्मचारी खटिइसकेका जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ । जिल्लामा ६ लाख ३७ हजार ७ सय मतदाता छन् । निर्वाचनका लागि ३२० मतदानस्थल छन् । मतदाताको संख्या धेरै भएकाले ‘क’, ‘ख’ र ‘ग’ गरी ७५९ मतदान केन्द्र छुट्याइएको कार्यालय प्रमुख ठाकुर भट्टराईले बताए । ‘मतदानको तयारी अन्तिम अवस्थामा छ,’ उनले भने, ‘कर्मचारीको टोली मतदानस्थल पुगिसकेको छ ।’

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सोमबार भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा तीनवटै जिल्लाका प्रजिअ र सुरक्षा समितिका पदाधिकारीहरूको बैठक बसेको छ । बैठकले शान्तिसुरक्षा, अपराध न्यूनीकरण, स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित रूपमा सम्पन्न गर्नेलगायत निर्णय गरेको छ ।

प्रकाशित : वैशाख २८, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?