जनशक्ति अभावले परीक्षणमा ढिलाइ

स्वाब संकलन बढ्दै गए रिपोर्ट पाउन पाँचदेखि सात दिनसम्म कुर्नुपर्ने

जेष्ठ १०, २०७८

भरत जर्घा मगर

सिरहा — कोरोना कहर बढ्दै गएपछि प्रदेश २ सरकारले स्वाब परीक्षणका लागि सिरहा सदरमुकामस्थित जिल्ला अस्पतालमा कोरोना प्रयोगशाला स्थापना गर्‍यो । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले गत मंसिर २८ गते उद्घाटन गरेपछि प्रयोगशाला सञ्चालनमा आयो ।

तर, त्यही प्रयोगशाला जनशक्ति अभावको मारमा परेको छ । जिल्लाभित्र पीसीआर परीक्षण गर्ने एक मात्र प्रयोगशाला भए पनि स्वाब परीक्षण गर्ने उपकरणबाहेक अन्य सहयोगी उपकरण छैनन् ।

प्रयोगशालाका ल्याब इन्चार्ज सञ्जय साहका अनुसार जेठ ५ गतेदेखि पालिकाहरूले स्वाब संकलन गर्न थालेका छन् । दैनिक दुई सयभन्दा बढी संकलित स्वाब सिरहा प्रयोगशालामा आउने गरेको छ, जसमध्ये ९० देखि ९३ वटा स्वाबको मात्रै परीक्षण हुने गरेको छ । उनका अनुसार एकै दिन जम्मा भएको परीक्षण प्रतिवेदन पाउन पनि तीन दिनसम्म कुर्नुपर्ने बाध्यता छ । यसप्रकार, स्वाब संकलन बढ्दै जाने हो भने अबको एक साता वा १० दिनपछि प्रतिवेदन पाउन पाँचदेखि सात दिनसम्म कुर्नुपर्ने हुन्छ । यसको समाधानका लागि आवश्यक जनशक्ति थप गरेर प्रयोगशालाको उपकरण कम्तीमा पनि दुई सिफ्ट चलाउनुपर्ने उनले बताए ।

प्रयोगशालामा स्वाब परीक्षण गर्न पठाएका एक सेवाग्राहीले चार दिनपछि बल्ल पीसीआर रिपोर्ट पाएको सुनाए । ‘रुघाखोकी र ज्वरो आएपछि परीक्षणका लागि सिरहा पठायो,’ उनले भने, ‘तर चार दिनपछि रिपोर्ट नेगेटिभ आए पनि मानसिक तनावले शिथिल हुनुपर्‍यो ।’ प्रत्येक आठ घण्टामा ९० वटा स्वाब परीक्षण गर्ने क्षमता भएको उक्त प्रयोगशालाले सुरुमा नमुना परीक्षण गर्दै आएको थियो । पछिल्लो केही दिनमा भने क्षमताभन्दा बढी स्वाब परीक्षण हुने गरेको छ । प्रत्येक आठ घण्टामा ९० वटा गरी दैनिक २७० वटा स्वाब परीक्षण गर्न सक्ने क्षमता भए पनि प्रयोगशालाले दिनमा एक पटक मात्र स्वाब परीक्षण गर्दै आएको छ ।

‘प्रयोगशालाका लागि नभई नहुने कम्प्युटर अपरेटर एक जना पनि छैनन्, प्राविधिकहरूले नै डाटा इन्ट्री गरिरहेका छन्,’ ल्याब इन्चार्ज साहले भने, ‘दोस्रो लहर नआउँदासम्म आफैं आएर परीक्षण गराउने व्यक्तिहरू मात्र हुने भएकाले त्यतिखेरको लागि अहिलेकै जनशक्तिले काम गरेकै हो तर अब प्रत्येक पालिकामा संकलन हुने स्वाबको परीक्षण गर्न यो प्रयोगशालाले धान्नेवाला छैन ।’

पीसीआर प्रयोगशालाको सबै व्यवस्थापन तथा सञ्चालनको जिम्मा सिरहा जिल्ला अस्पतालको रहे पनि जनशक्ति थप गर्ने जिम्मेवारी भने प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालयको रहेको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शैलेन्द्र ठाकुरले बताए । ‘पालिकाहरूबाट स्वाब संकलन हुन थालेदेखि परीक्षणको सम्भावित चापको अँकलन गरेर प्रयोगशालालाई एकै दिनमा तीन सिफ्टसम्म चलाउनुपर्छ भनेर प्रदेश सरकारसँग थप जनशक्ति मागेको माग्यै छौं’, ठाकुरले भने, ‘तर यस्तो विपद्को अवस्थामा पनि जनशक्ति थप गरिरहेको छैन ।’

कोरोना भाइरस

भरत

Link copied successfully