सहयोगी उपकरण र जनशक्ति अभाव
राजविराज — कोरोना संक्रमण सुरु हुनुअगावै सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य मन्त्रालयले दुईवटा भेन्टिलेटर पठायो । अस्पताल रहेकै निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादव स्वास्थ्यमन्त्री भएका बेला ती भेन्टिलेटर पठाइएको थियो । भेन्टिलेटर राख्ने भवन नभएको भन्दै अस्पतालको स्टोरमा थन्काएर राखियो ।
गत वर्ष कोरोनाको संक्रमण सुरु भएपछि जडानको माग गरे पनि भवन अभावकै समस्या देखाइयो । मन्त्रालयले गत वर्ष पनि थप २ वटा भेन्टिलेटर पठायो । पछिल्लो पटक पठाएको भेन्टिलेटर मेसिन पनि अघिल्लो जस्तै स्टोरमा थन्काएर राखिएको छ । कोरोना संक्रमण गत वैशाखदेखि फेरि तीव्र रूपमा बढ्न थालेको छ । भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि धेरै छन् । तर, जिल्लामा भएको भेन्टिलेटर प्रयोग हुन सकेको छैन ।
विभिन्न बैठक, छलफललगायतमा तत्काल गजेन्द्रनारायण सिंह अस्पतालमा भेन्टिलेटर जडान गर्नुपर्नेमा सबै एकमत भए । सुरुमा भवन नभएको भन्दै थन्काएर राखिए पनि अहिले अस्पतालको आकस्मिक कक्षको माथि भवन बनेपछि त्यसमा आईसीयू कक्ष र भेन्टिलेटरसमेत राख्ने गरी तयारी गरियो । अस्पतालले १५ दिन अघि पत्रकार सम्मेलन नै गरी आईसीयू, एनआईसीयू, एचडीयू र भेन्टिलेटर सेवा सुरु गरेको जानकारी गरायो । तर उक्त जानकारीअनुसार अस्पतालमा एचडीयू सेवा सुरु भए पनि भेन्टिलेटर अझै पनि सञ्चालनमा आउन सकेको छैन ।
जडान भइसकिएको भनिए पनि बिरामी राख्न अझै भ्याएको छैन । गम्भीर अवस्थामा पुग्ने बिरामीलाई तत्काल भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउँदा धरान वा विराटनगर जानुपर्ने र त्यहाँ समयमा भेन्टिलेटर उपलब्ध हुन नसक्दा ज्यान गुमाउनुपर्ने अवस्था छ । ‘भेन्टिलेटर कक्षमा जडान गरिसकिएको भए पनि त्यसमा लाग्ने एउटा सानो पार्टपुर्जा सेन्सर नभेटिएका कारण सञ्चालनमा आउन सकेको छैन,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जितकुमार झाले भने, ‘जनशक्तिको पनि अभाव छ ।’
चलाउने जनशक्तिको व्यवस्थापन भए पनि संक्रमित भएको उनले बताए । एक साताभित्रै आवश्यक व्यवस्थापन गरेर भेन्टिलेटर सञ्चालनमा ल्याउने प्रतिबद्धता गरे । ‘तत्काल भेन्टिलेटर जडान हुनुपर्ने विषयमा हामी दैनिक अस्पताल प्रशासनसित छलफलमा छौं,’ राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले भने, ‘धरान र विराटनगरकै भरमा अहिलेसम्म रहनुपर्ने अवस्था छ । ती ठाउँमा भेन्टिलेटर समयमा खाली नहुँदा जिल्लाका बिरामीको ज्यान जाने गरेको छ ।’
