सहर छाड्ने बढ्दै

संक्रमणको जोखिम र गुजारा चलाउन कठिन भएपछि गाउँ फर्कनेको लर्को

जेष्ठ १०, २०७८

लक्ष्मी साह

बारा — ६ वर्षदेखि कलैया–४ पन्ना वागमा बस्दै आएका बैजु जयसवालले कलैया छाडेको दुई साता भइसक्यो । छोराछोरीलाई पढाउन कलैयामा बस्दै आएका उनी घरको पाँच सदस्यसहित रौतहटको मौलापुरस्थित पुर्ख्यौली घर पुगेका छन् ।

‘विद्यालय बन्द छ, अरू कुनै आयस्रोत छैन । महँगी धान्न सक्ने अवस्था छैन । त्यसैले कलैया बस्न नसकिने भइयो,’ उनले भने, ‘सुक्खारूखा खान्छौं गाउँकै घरमा बस्छौं । सहर बस्दैनौं ।’ एकातिर प्रशासनको कडाइ र अर्कोतिर सर्वसाधारणको हेल्चक्र्याइँले कोभिडको जोखिमका कारण गाउँकै घरमा आएको उनले बताए ।

शिक्षण पेसामा रहेका सोही टोलका अजय जयसवाल पनि छोराछोरीलाई पढाउने उद्देश्यले कलैयामा लामो समयदेखि बसेका छन् । तर उनलाई पनि अब सहर बस्ने कि गाउँ जाने भनेर उकुसमुकुस भइसकेको छ । ‘सहर आएका थुप्रै गाउँ गइसके, मलाई पनि बस्न समस्या भइरहेको छ । भोलिपर्सि हामी हिँड्छौं,’ उनले भने, ‘बजारमा कोभिडको जोखिम छ । आफ्नो र छोराछोरीको पनि विद्यालय बन्द नै छ, बसेर के गर्नु ? खर्च मात्र भइरहेको छ, उपलब्धि छैन ।’

बैजु र अजय जस्तै गाउँबाट सहर पुगेका थुप्रै कलैयाको बसाइँ छाडेर पुर्ख्यौली गाउँ पस्न थालेका छन् । कोभिडको महामारीसँगै प्रशासनिक कडाइ र महँगीले गर्दा उनीहरू सहर छाड्न थालेका हुन् । ‘तीन सातायता थुप्रैले सहर छाडिसके,’ कलैया–४ का रामनाथसिंह तिवारीले भने, ‘व्यवसायी, सरकारी तथा निजी क्षेत्रका जागिरेहरूलाई निषेधाज्ञाले बस्न कठिन भइरहेको छ ।’

सहरमा कोभिड संक्रमितहरूको सख्या बढ्दै गएकाले व्यवसायीहरूसमेत पसल व्यवसाय बन्द गरेर गाउँ फर्किएको बारा उद्योग वाणिज्य संघका पूर्वपदाधिकारी विजय स्वर्णकारले बताए । ‘सहरमा निषेधाज्ञाको प्रभाव, कोभिड सर्ने डर, आवागमन बन्द र खाद्यान्नमा कृत्रिम अभावले सर्वसाधारण मारमा परेका छन्,’ उनले भने, ‘त्यसैले गाउँबाट सहर आएकाहरू फेरि गाउँ नै फर्किरहेका छन् ।’

बजारमा बढ्दो महँगीलाई निगरानी नियन्त्रण गर्ने सरकारी नियमनकारी निकाय पनि चुपचाप बसेको उनको आरोप छ । ‘सरकारी कार्यालय पनि पूर्ण रूपमा नखुलिरहेकाले बजारमा चहलपहलसमेत बन्द छ,’ उनले भने, ‘सहरभन्दा गाउँकै वातावरण सुरक्षित भएको भन्दै कतिपय सर्वसाधारणहरूले सहर छाडेका छन् ।’

कोरोना भाइरस

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully