समुदायमै लुकाउँदा बढ्यो कोरोना

संक्रमण भएमा सामाजिक बहिष्कारमा परिन्छ भन्ने डर

जेष्ठ १०, २०७८

कुम्भराज राई

ओखलढुंगा — चिशंखुगढी गाउँपालिकाका केही वडामा एक महिनाअघिदेखि समुदायस्तरमै ज्वरोका बिरामी थिए । सामान्य ज्वरो भन्दै उनीहरूले उपचार र परीक्षण गरेका थिएनन् ।

साताअघि मात्रै गाउँपालिकाले कोभिडको लक्षणसँग मिल्दाजुल्दा बिरामीलाई उपचार गर्ने भनेर स्वास्थ्य संस्थामा बोलायो । स्वाब परीक्षणपछि रिपोर्टमा १३ जनाको पोजिटिभ देखियो । यतिबेला उनीहरू सबै होम आइसोलेसनमै छन् । 

‘अहिले पोजिटिभ देखिएकाहरू पनि कोभिड परीक्षण गर्ने भनेको भए आउने थिएनन् । हामीले बिरामीको उपचार गर्ने भनेर बोलाएपछि आएका हुन्,’ गाउँपालिका अध्यक्ष निशान्त शर्माले भने, ‘हाम्रो अनुमानमा समुदायमै कोभिडलाई लुकाएर राख्न चाहनेको संख्या धेरै छ । लक्षण देखिएकालाई परीक्षणका लागि बोलाउँदा पनि आउन मान्दैनन् ।’

सोमबारमात्रै कन्ट्यान्ट ट्रेसिङमा ६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । तीभन्दा धेरैलाई पीसीआर गर्न बोलाए पनि उपस्थित नभएको अध्यक्ष शर्माले बताए । ‘रातारात काठमाडौंबाट आउने अनि गुपचुपमा घर र आफन्तमै सीमित राख्ने गर्दा समुदायस्तरमा फैलिएको हो,’ अध्यक्ष शर्माले भने, ‘यो कम्तीमा पनि एक महिनाअघिदेखि फैलन सुरु भएको हुन सक्छ ।’

त्यसैगरी मानेभन्ज्याङ गाउँपालिकामा पनि ज्वरोसहित लक्षणका बिरामीको संख्या धेरै छ । गाउँपालिकाले पीसीआरका लागि थप पहल गरिरहेको छ । तर धेरैजसो परीक्षण गर्न चाहँदैनन् । तीन दिनअघि कोरोना पुष्टि भएका नौ जनामध्ये मानेभन्ज्याङका ६ जना घरबाट कतै नगएका भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले बताए । अन्य तीन जना धरान र काठमाडौंबाट आएका हुन् । अधिकांशलाई कोरोना पुष्टि भएमा सामाजिक बहिष्कार भोग्नुपर्ने डर छ । त्यसैले उनीहरूले परीक्षण नै गर्न नचाहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्वास्थ्य संस्थामा अक्सिमिटर अभाव

तीन दिनअघि मोलुङ गाउँपालिकाका एक बिरामीलाई श्वासप्रश्वासमा समस्या भयो । कोभिडको लक्षणसँग मिल्दोजुल्दो देखिएकाले तत्काल मिसन अस्पताल ओखलढुंगा ल्याइयो । उनको अक्सिजनको अवस्था चेक गर्दा सामान्य थियो ।

उनलाई अन्य समस्या रहेछ । तर गाउँपालिका आसपासकै स्वास्थ्य संस्थाहरूमा अक्सिजनको मात्रा परीक्षण गर्न अक्सिमिटर पाइएन । बिरामी आत्तिएकैले मिसन ल्याउनुपर्‍यो । पल्स अक्सिमिटर अन्य बिरामीका लागि भन्दा संक्रमितका लागि अति आवश्यक उपकरण मानिन्छ । हाल संक्रमण पुष्टि भएर होम आइसोलेसनमै बसेकालाई झनै यसको जरुरत छ । तर कतिपयले आफैं किनेर प्रयोग गरिरहेका छन् । स्वास्थ्य संस्थामा यो सहज रूपमा उपलब्ध छैन । मोलुङ गाउँपालिकामा पल्स अक्सिमिटरको अभाव भएको स्वास्थ्य शाखा संयोजक वेदहरि दाहालले बताए । उनले हालै मात्र १४ वटा पल्स अक्सिमिटर खरिदका लागि सूचना निकालिएको बताए ।

गाउँपालिकाले कोभिड अस्पताल रामपुरमा दुईवटा अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था गरेको छ । थप तीनवटा अक्सिजन कन्सन्ट्रेटर खरिद प्रक्रिया अघि बढाएको छ । मानेभन्ज्याङमा पनि पल्स अक्सिमिटरको अभाव छ । १० वटा खरिदको पहल गरिरहेको स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले बताए । बजारमा दुई हजारदेखि २ हजार ५ सय रुपैयाँमा पाइने अक्सिमिटर यसबेला ६ हजार रुपैयाँसम्म पर्ने गरेको उनले बताए । अझ भनेका बेला खोज्दा नपाइने भएकाले तत्काल खरिद गर्न लागिएको बताए ।

कोरोना भाइरस

कुम्भराज

Link copied successfully