प्रदेशका आठमध्ये तीन जिल्लाका नाकामा मात्र एन्टिजेन परीक्षण, वैशाखयता मूल नाकाबाट मात्र ३० हजार भित्रिए
पर्सा, सप्तरी — भारतबाट नेपाल फर्किनेको लर्को लागे पनि प्रदेश २ का सीमामा भरपर्दो स्वास्थ्य जाँच हुन सकेको छैन । प्रदेशका ८ जिल्लामध्ये पर्साको वीरगन्ज, रौतहटको गौर र सर्लाहीको मलंगवा नाकामा मात्रै एन्टिजेन परीक्षण भइरहेको छ । अन्य नाकामा हेस्थ डेस्कमा आउनेको मात्र ज्वरो नाप्ने गरिएको छ । अधिकांश बिनाजाँच गन्तव्यतर्फ जाने गरेका छन् । सीमा वारपारमा पनि कडाइ हुन सकेको छैन ।
तर, परीक्षण गरिएकाहरूमा भने धमाधम संक्रमण देखिने गरेको छ । वीरगन्जस्थित हेल्थ डेस्कमा मंगलबार गरिएको एन्टिजेन परीक्षणबाट थप ३ जनामा संक्रमण पुष्टि भएको सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले जानकारी दिए । संक्रमित सबै भारतीय नागरिक हुन् । उनीहरूलाई भारत नै फर्काइएको बमले बताए । सीमामा एन्टिजेन परीक्षणबाट संक्रमित देखिने दर पनि उच्च छ । चैत २३ देखि मंगलबारसम्म पर्साको हेल्थ डेस्कमा कूल ९ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पाइएको छ ।
‘अधिकांश संक्रमित भारतीय नै हुन्,’ बमले भने, ‘भारतीयको अनावश्यक प्रवेश नरोक्ने हो भने स्थिति झनै नियन्त्रण बाहिर जान सक्छ ।’ तत्काललाई सीमाको आवागमन रोक्न आफूहरूलाई आदेश नभए पनि व्यवस्थित गर्न सक्दो प्रयास गरी रहेको उनले बताए । ‘मंगलबारदेखि भारतीय नम्बर प्लेटका मोटरसाइकललाई नेपाल प्रवेशमा रोक लगाएका छौं,’ उनले भने ।
सर्लाहीको मलगंवा नाकामा सोमबारदेखि एन्टीजेन परिक्षण थालिएको हो । त्यहाँबाट नेपाल भित्रिनेमध्ये ३६ जनाको एन्टीजेन परिक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । उनलाई उपचारका लागि वीरगन्ज पठाइएको सर्लाहीका जनस्वास्थ्य प्रमुख श्रवणकुमार नायकले जानकारी दिए । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार एन्टिजेन किटको उपलब्धताका आधारमा नाकामा क्रमशः परिक्षण बढाउँदै लगिनेछ ।
सप्तरीमा पनि संक्रमण तीव्र फैलिँदा सीमामा आउजाउ रोकिएको छैन । सप्तरीको प्रमुख नाका कुनौलीमा हल्का कडाइ गरिए पनि अन्य साना नाकाबाट सर्वसाधारण भित्रिने र बाहिरिने क्रम बढेको छ । कुनौली नाकास्थित नेपालतर्फ भन्सार कार्यालय छेउमा स्वास्थ्य जाँच गर्न हेल्थ डेस्क राखिएको छ । राजविराजबाट भन्सारसम्म चल्ने सवारीसाधन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्छ ।
कुनौलीबाट नेपाल भित्रिनेको मात्र स्वास्थ्य जाँच भइरहेको छ । अरू नाका र खुला ठाउँमा आउजाउ मूल नाकभन्दा बढ्दो छ । अझै पनि कुनौलीबाट दैनिक सयौंको संख्यामा नेपालीहरू किनमेल गर्न भारतीय बजार पुगेर फर्किरहेका छन् । यस्तै, साना नाका छिन्नमस्ता, पातो, बेल्हीलगायतबाट पनि दैनिक सयौले आउजाउ गरिरहेका छन् । जिल्लाका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले सीमामा कडाइ गरिएको बताए पनि त्यो मूल नाका कुनौलीमा मात्र देखिएको छ । उनले स्वास्थ्य जाँबिना नेपाल प्रवेश गर्न नदिइएको दाबी गरे ।
प्रदेश २ स्थित सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीका अनुसार वैशाखयता मात्र प्रदेशमा भारतबाट करिब ३० हजार जना भित्रिएका छन् । यो तथ्यांक मूल नाकाबाट मात्र भित्रिनेको हो । धेरैजसो नाकामा सातायता मात्र भारत आउजाउ गर्नेको तथ्यांक राख्न थालिएको छ ।
पर्सामा संक्रमितको मृत्युका घटना पनि बढिरहेको छ । सोमबार र मंगलबार मात्रै यहाँ चार संक्रमितको मृत्यु भएको छ । चारै जनाको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासका अनुसार सोमबार वीरगन्ज ६ आदर्शनगरका ६० वर्षीय पुरुष, बहुदरमाई नगरपालिका ७ का ४५ वर्षीय पुरुष र सोही ठेगानाकी ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । मंगलबार बारा परवानीपुर गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
दुई सातायता पर्सामा मात्रै संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ दर्जन पुगेको डा. दासले बताए । तीमध्ये १३ को नारायणी अस्पतालमा, ३ को नारायणी बयोधा अस्पतालमा र एकको गण्डक अस्पतालमा मृत्यु भएको हो । एक जनाको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । नारायणी अस्पतालमा मंगलबार ५० संक्रमित भर्ना रहेको र सबैलाई अक्सिजन दिएर राखिएको डा. दासले बताए । सामान्य अवस्थाका संक्रमितलाई अस्पतालमा भर्ना लिइएको छैन । अस्पतालमा सुरुमा स्थापना गरिएको आईसीयू र एचडीयू युनिट संक्रमितले भरिएपछि अब सर्जिकल वार्डसमेत खाली गराइ उपचारको व्यवस्था मिलाइएको उनले बताए । थप करिब ४० संक्रमितलाई उपचार गर्न सकिने उनले जानकारी दिए ।
