काभ्रे — मध्यपहाड र तराईका केही जिल्लालाई समेत सेवा दिइरहेका काभ्रेका अस्पतालमा ७ वटा मात्रै भेन्टिलेटर सुविधा छ । कोरोनाको संक्रमण बढिरहेको अवस्थामा जिल्लास्थित धुलिखेल अस्पतालमा मात्रै उक्त सुविधासहितको सेवा तयारी गरिएको छ ।
राजधानीका अस्पतालमा भेन्टिलेटर नपाउन सुरु भएसँगै त्यसको चाप जिल्लामा पर्न थालेको छ । ‘७ वटा भेन्टिलेटर कोरोना संक्रमितको उपचारमा सञ्चालनमा ल्याउन सक्छौं,’ धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूले भने, ‘वयस्कका लागि ४ र बालबालिकाका लागि ३ भेन्टिलेटर छन् ।’
एक सय बेड क्षमताको कोरोना विशेष अस्पतालका रूपमा सञ्चालनको तयारीमा रहेको अस्पतालमा ७ वटा आईसीयू र २५ वटा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) बेड तयार गरिएका छन् ।
बनेपास्थित शिर मेमोरियल अस्पतालमा १ वटा भेन्टिलेटर मेसिन भए पनि विष सेवनलगायतका आत्महत्याका केसमा प्रयोग हुने गरेको छ । ‘कोरोना संक्रमितका लागि प्रयोग हुने गरी छुट्टै भेन्टिलेटर सुविधा थप्न सकेका छैनौं,’ अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापामगरले भने, ‘आईसीयूमा पनि ५ बेड त छन् तर आईसीयू कक्ष नै अलग्गै सञ्चालन गर्ने अवस्था छैन ।’
अस्पतालले कोरोना शंकास्पदका लागि २० बेड, संक्रमण पुष्टि हुनेका लागि २० बेड सञ्चालनमा ल्याएको छ । जिल्लास्थित अन्य निजी तथा सरकारी अस्पतालमा पनि भेन्टिलेटर सुविधा छैन ।
प्रादेशिक अस्पतालमा स्तरोन्नतिको प्रक्रियामा रहेको जिल्लाको एक मात्र सरकारी मेथिनकोट अस्पतालमा पनि भेन्टिलेटरको सुविधा छैन । अस्पतालले छुट्टै आइसोलेसन कक्षसमेत तयार गरेको छैन ।
