वीरगन्ज — जिल्ला प्रशासन कार्यालय पर्साले वैशाख १६ देखि जिल्लाभर एक साता निषेधाज्ञा लागू गर्ने आदेश गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले पर्साको मंगलबार मध्यान्ह बसेको बैठकले कोभिड १९ को बढ्दो संक्रमणलाई तत्काल रोकथाम तथा नियन्त्रण गर्न आवश्यक देखिएकोले एक साता निषेधाज्ञाको आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरिएको जनाए । प्रशासन कार्यालयका अनुसार कोभिड १९ को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा पनि नराम्रोसँग प्रभावित भइरहेको हुँदा उक्त संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको मंगलबारको निर्णय समेतको आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ले दिएको अधिकार प्रयोग गरी पर्सा भरि निषेधाज्ञा लागू गरिएको हो । आदेशको बर्खिलाप हुने गरी काम कारवाही गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जनाइएको छ ।
निषेधाज्ञाको अवधिमा औषधि उपचार एवं अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरन्जन स्थल, सैलुन, व्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्न पाइने छैन् । विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरि जिल्ला प्रशासन कार्यालय पर्साबाट अनुमती लिएर मात्र गर्न पाईने प्रजिअ घिमिरेद्धार हस्ताक्षरित सूचनामा जनाइएको छ ।
मालवाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबहान, फोहोर मैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आइसोलेसन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारी साधान, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु (दुई पांग्रे समेत) सञ्चालन गर्न पाइने छैन ।
खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय बाहेक अन्य सबै पसल, व्यवसाय हाललाई सञ्चालन नगर्ने आदेश जारी गरिएको छ । खाद्य बस्तुका पसल, व्यवसायहरु बिहान १० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी खोल्न पाइने छ । वीरगन्ज इनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमन पूर्ण रुपमा रोक लगाइएको छ ।
प्रशासन कार्यालयका अनुसार इनार्वा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुयाई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्नेछ । अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक एवं निजी सेवा प्रवाह हाललाई स्थगन गरिएको छ । अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी एवं सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवत जावत गर्नुपर्ने छ । मृत्यु संस्कार, विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यमा र विकास निर्माणका आयोजनासँग सम्बन्धित सामग्री एवं जनशक्तिले प्रयोग गर्ने सवारी साधनहरु जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र सञ्चालनमा ल्याउन सकिने छ ।
