रौतहट — रौतहटका १८ वटै पालिकालाई गत आर्थिक वर्षमा दिइएको सशर्त अनुदानको रकम कोष तथा लेखा नियन्त्रण कार्यालय गौरले फिर्ता लगेको छ । कोरोना संक्रमण कारण देखाएर खर्च हुन नसकेको संघीय र प्रदेशले पठाएको ३४ करोड ४७ लाख ३५ हजार फिर्ता लगिएको हो । उक्त बजेट शिक्षा, स्वास्थ्य, कृषि र पशु शीर्षकमा विनियोजन गरिएको थियो ।
सबैभन्दा बढी रकम पाएको चन्द्रपुर नगरपालिकाले गत वर्ष कोरोनाका कारण सशर्त अनुदानको ३ करोड ३४ लाख रकम खर्च नगरेपछि कोलेनिकाले फिर्ता लगेको हो । सशर्त अनुदानको रकम खर्च नगरेकाले फिर्ता गर्न लगाइएको कोलेनिका रौतहटका प्रमुख ईश्वरी ढकालले बताए । ‘संघबाट प्राप्त ३१ करोड ६१ लाख ६२ हजार र प्रदेशले पठाएको २ करोड ८५ लाख ७३ हजार रकम खर्च हुन नसकेपछि ताकेता गरेर फिर्ता लिएका हौं,’ उनले भने, ‘नियमले अन्य शीर्षकमा खर्च गर्न नमिल्ने भए पनि नगरपालिकाले फिर्ता गर्न मानेका थिएनन् । सबै फिर्ता गरायौं ।’
कोरोनाका कारण स्कुलको खाजा खर्च, शिक्षकको तलब, कृषि, पशुसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम प्रभावित भएका थिए । त्यसैले बजेट खर्च हुन नसकेको गुजरा नगरपालिकाका कामु प्रमुख प्रशासकीय अधिकृत विनोद पटेलले बताए । ‘कोभिडले लकडाउन हुँदा कार्यालय बन्द भयो,’ उनले भने, ‘क्वारेन्टाइन र आइसोलेसनबाहेक केही काम गर्न सकिएन । ससर्त अनुदानको रकम त्यही भएर फिर्ता गरेको हो ।’ कोलेनिकाका अनुसार इशनाथ नगरबाट १ करोड ५२ लाख, कटहरियाको १ करोड ५२ लाख, गरुडाको २ करोड ४४ लाख, गुजराको १ करोड ७६ लाख, गौर नगरपालिकाको २ करोड ५२ लाख रकम फिर्ता भएको छ । प्रमुख र उपप्रमुखबीचको विवादका कारण धेरैजसो नगरपालिकामा समयमा परिषद् हुन नसकेकाले पनि कार्यक्रम प्रभावित भएको थियो ।
