कोरोनाबाट महोत्तरीमा मंगलबार २ जनाको मृत्यु

भाद्र ९, २०७७

सुनिता बराल

महोत्तरी — कोरोना भाइरसबाट महोत्तरीमा आज (मंगलबार) थप दुई जना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबा मृत्यु हुनेको संख्या चार जना पुगेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

मंगलबार जिल्लाको मनरा शिस्वानगरपालिका–५ का ७५ वर्षीय पुरुषलाई जिल्ला अस्पताल जलेश्वर पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको छ । मृतक लामो समयदेखि क्यान्सरबाट ग्रसित रहेको खुलेको छ । त्यस्तै कोरोना संक्रमण पुष्टि भएका बलवानगरपालिका–३ का अर्का एक जना ६६ वर्षीय पुरुषको पनि आजै मृत्यु भएको छ । 

मृतक दुवैको गत हप्ता स्वाब परीक्षणमा कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए ।

यसअघि गत साउनमा जिल्लाकै मटिहानी नगरपालिकाका एक र महोत्तरी गाउँपालिका–३ का एक गरी दुई जनाको मृत्यु भइसकेको छ । मृतक चारै जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको भएपनि मृतक सबै लाामो समयदेखि दीर्घरोगले ग्रसित रहँदै आएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा सोमबारसम्म १ हजार १ सय १८ मा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–२ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरस

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully