कोरोना विशेष अस्पताल बुटवलको आईसीयू भरिभराउ

भाद्र ९, २०७७

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको  कोरोना विशेष अस्पताल बुटवलका १७ वटै आईसीयू बेड भरिभराउ भएका छन् । आईसीयू विभागका सबै बेड भरिभराउ भएपछि जटिल खालका बिरामीलाई अस्पतालको सामान्य आइसोलेसन बेडमा राखेर उपचार थालिएको छ ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले अन्यत्र रेफर गर्ने ठाउँ नभएकाले बिरामीलाई सामान्य बेडमा राख्‍नुपरेको बताए । ‘अन्य अस्पतालले समेत खुरुखुरु जटिल समस्या भएका बिरामी पठाउँदा हामीलाई थेगिनसक्नु छ,’ डा. थापाले भने, ‘अस्पतालको आइसोलेसनमा भएका २३ जनामध्ये केही आईसीयूमा राख्नुपर्ने हुनुहुन्छ । तर, राख्‍न सकिएको छैन ।’

स्थान अभावमा यस अस्पतालले आईसीयूमा राख्नुपर्ने अवस्थाका २ जना बिरामीलाई मंगलबार बिहान भिम अस्पताल भैरहवामा पठाएको थियो । तर, अस्पतालले भर्ना लिएपनि थप उपचारमा आनाकानी गरेको गुनासो छ । ‘अस्पतालका कोरोना फोकल पर्सन डाक्टरलाई फोन गरेर पठाएको हुँ,’ थापाले भने, ‘अन्य स्वास्थयकर्मीले किन आएको भनेर हकार्नुभएछ ।’

प्रदेश ५ मा जटिल खालका कोरोना संक्रमितको उपचार गर्नसक्ने ४ वटा आईसीयू र भेन्टिलेटरसहितका अस्पताल छन् । प्रदेश सरकारले बुटवलसहित भीम अस्पताल भैरहवा रुपन्देही, कोरोना विशेष अस्पता दाङ, र बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई आईसीयूसहित कोरोना विशेष अस्पताल तोकेको हो । 

बुटवलमा ७ र अन्य अस्पतालमा भेन्टिलेटरसहितका ५ /५ वटा आईसीयू बेड छन् । तर, बुटवल बाहेकका कोरोना विशेष अस्पतालले आईसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने जटिल खालका बिरामीको भर्ना नै लिएका छैनन् । जटिल देखिने बित्तिकै बाँके र दाङबाट समेत बिरामीलाई बुटवल पठाइने गरिएको छ । 

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले कतै दक्ष जनशक्ति नहुँदा त कतै उपकरण  व्यवस्थापन गरेर सञ्चालन गर्न नसक्दा कोरोना अस्पतालले भेन्टिलेटर सहितको उपचार नगरेको बताए । ‘मन्त्रालयबाट पटक पटक चिकित्सकलाई बुटवल ल्याएर सिकाउने र काम थाल्न निर्देशन दिने गरेका छौं,’ उनले भने, ‘तर, जटिल खालका संक्रमितको उपचारमा अस्पतालहरु संवेदनशील देखिएका छैनन् ।’

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully