१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेकपाका सांसद भन्छन्– काठमाडौंमा कोरोना संक्रमितलाई 'होम आइसोलेसन'मा राख्न हुन्न

जयसिंह महरा

काठमाडौँ — सत्तारुढ नेकपाका सांसदहरूले काठमाडौंका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्न नहुने बताएका छन् । सांसदहरू जीवनराम श्रेष्ठ र सरिता न्यौपानेले काठमाडौंजस्तो घना बस्तीमा कोरोना संक्रमण भएकाहरूलाई होम आइसोलेसनमा राख्न नहुने धारणा राखेका हुन् । 

नेकपाका सांसद भन्छन्– काठमाडौंमा कोरोना संक्रमितलाई 'होम आइसोलेसन'मा राख्न हुन्न

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार भएको भर्चुअल बैठकमा सांसदद्वयले होम आइसोलेसनको मापदण्ड पूरा गर्न नसकिने भएकाले काठमाडौंमा होम आइसोलेसनका लागि अनुमति दिन नहुने बताएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित नेकपाका सांसद जीवनराम श्रेष्ठले समितिको बैठकमा भने, 'कोरोना पोजिटिभलाई होम आइसोलेसनमा राख्दा झन् फैलाउने अवस्था आइलाग्यो । होम आइसोलेसनका लागि डिस्करेज गर्नुपर्छ ।'

घना बस्ती भएको ठाउँमा कोरोना संक्रमितका लागि होम आइसोलेसन बनाउन नहुने श्रेष्ठको भनाइ थियो । 'आइसोलेसनको मापदण्ड घना बस्ती भएका सहरका लागि एक खालको र पातलो बस्ती भएका ठाउँका लागि अर्को खालको बनाउनुपर्छ । सोहीअनुसार योजना बनाउनुपर्छ,' विगतमा क्वारेन्टाइनबाट समुदायमा संक्रमण फैलिएको उदाहरण दिँदै श्रेष्ठले थपे, 'जनमानसमा भयको अवस्था बनिरहेको छ ।' उनले संक्रमण भएको थाहा पाएलगत्तै आइसोलेसनमा लिनुपर्ने बताए ।

नेकपाकै सांसद सरिता न्यौपानेले पनि काठमाडौंमा होम आइसोलेसन राख्न नहुने बताइन् । काठमाडौंमा घरबेटीले पनि होम आइसोलेसनमा बस्न सक्ने अवस्था नरहेकाले बाहिरबाट आएर भाडामा बस्ने व्यक्ति कोरोना संक्रमित भएमा होम आइसोलेसन राख्न नहुने उनको भनाइ थियो । 'होम आइसोलेसन कस्तो ठाउँमा गर्न सकिन्छ ? घरबेटीलाई पनि होम आइसोलेसनमा बस्न सक्ने अवस्था छैन । मान्छे एउटा, दुईटा कोठा लिएर बसिरहेका हुन्छन् । शौचालयको व्यवस्था पनि हुँदैन,' उनले थपिन्, 'त्यसरी संक्रमितलाई राख्दा उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ भन्ने रेकर्ड कसले लिने हो ? त्यसैले, काठमाडौं जस्तो घना बस्तीमा होम आइसोलेसन राख्न कति सहज छ भन्ने बुझ्नुपर्छ ।'

पछिल्लो समय स्वास्थ्यकर्मी र कोरोना जितेर गइरहेका व्यक्तिमाथि समाजमा दुर्व्यहार भइरहेको अवस्थामा सांसदहरूको यस्तो प्रतिक्रिया आएको हो ।

नेकपा सांसद विद्या भट्टराईले भने कोरोना भाइरसबाट संक्रमितको उपचारमा लागेका स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार अन्त्य गर्न सरकारले पहल लिनुपर्ने बताइन् । 'स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भएका छन् । कोरोनाको नाममा सामाजिक सद्भाव भड्किने खालका घटना भइरहेका छन् । त्यस्ता कुरा सरकारले रोक्नुपर्छ,' उनको भनाइ थियो ।

नेकपाकै सांसद सुरेश राईले कोरोना संक्रमित भएका तर लक्षण नभएका स्वास्थ्यकर्मी लुकेर बस्नुपर्ने अवस्था आएको बताए । उनले त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । कोरोना संक्रमितको उपचारमा लागेका स्वास्थ्यकर्मीको त्यस्तो अवस्था हुनु र स्वास्थ्य सचेतना अपनाउँदा अपनाउँदै पनि त्यस्तो हुनु दुःखद् भएको उनको भनाइ थियो ।

समिति सभापति जयपुरी घर्तीले स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचार गर्दागर्दै संक्रमित भएको अवस्थामा पनि उनीहरूमाथि दुर्व्यवहार हुनु घृणास्पद कार्य भएको बताइन् । उनले स्वास्थ्यकर्मीलाई हौसला दिनुपर्ने अवस्थामा त्यसरी निरुत्साहित गर्नेलाई कारबाही गर्नुपर्ने बताइन् ।

कांग्रेस सांसद मानबहादुर विश्वकर्माले संक्रमित व्यक्ति जुन ठाउँको हो सोही ठाउँ लेख्नुपर्ने र त्यसबारे जानकारी दिनुपर्ने माग गरे । उनले काठमाडौंमा संक्रमण भएको व्यक्तिको ठेगाना रसुवा दिँदा ठीक नभएको बताए । 'काठमाडौं बसेको मान्छेको ठेगाना रसुवाको हुन्छ । सही ठेगाना लिएको हुँदैन । नाम नदिनु ठीक छ । तर, ठेगाना लुकाएर सरकारले गलत गरेको छ । सही ठेगाना दिएर अरु मान्छे सतर्क हुने अवसर दिनुपर्छ । जुन ठाँउको मान्छे हो त्यो ठाउँको सूचना दिनुपर्छ ।'

काठमाडौं प्रवेश गर्ने ठूलो ओहदाकालाई सरकारले सहजै प्रवेश दिएको तर सर्वसाधारणलाई अत्यावश्यक हुँदा पनि रोकेको भन्दै विश्वकर्माले आपत्ति जनाए ।

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि काठमाडौं लगायत विभिन्न जिल्लामा दुर्व्यहार भएका थिए। त्यस्तै, कोरोना संक्रमण भएका व्यक्ति र निको भएका व्यक्तिहरूमाथि पनि विभिन्न जिल्लामा दुर्व्यवहार भएका घटना पनि सार्वजनिक भएका थिए । यस्तो अवस्था रोक्नका लागि विभिन्न राजनीतिक दलले सरकारलाई सचेत गराएका छन् ।

सम्बन्धित समाचारः

प्रकाशित : भाद्र ९, २०७७ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?