निजी प्रयोगशालामा कोरोना परीक्षण गराउने बढे

भाद्र ९, २०७७

रुपा गहतराज

नेपालगन्ज — सरकारले अनुमति पाएका निजी प्रयोगशालाहरुले कोरोना परीक्षण गर्न पाउने स्वीकृति दिएपछि कोरोना परीक्षण गराउने सर्वसाधारण बढेका छन् ।

कोहलपुरस्थित बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा गएर कोरोना भाइरस परीक्षण गराउने बढेका छन् । पश्चिम नेपालमा कोहलपुर–१० रामनगरमा रहेको बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टरले मात्र निजीस्तरमा नेपाल सरकारबाट असार २४ गते  कोरोना भाइरस परीक्षणको अनुमति र स्वीकृति पाएको थियो ।

साउनको १६ गतेबाट काम सुरु गरेको बागेश्वरीले २५ दिनमा सात सय वटा स्वाबको नमुना टेस्ट गरिसकेको जनाएको छ । 

बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टरका सञ्चालक विश्व भण्डारीले सरकारले तोकेको ५ हजार ५ सय रुपैयाँ शुल्क लिएर कोरोनाको परीक्षण गरिरहेको र तुरुन्त रिपोर्ट दिइरहेको बताए । ‘अपरझटमा यात्रा गनुपर्ने, कन्ट्याक्ट ट्रेसिङमा परेका, गैरसरकारी संस्थाका मान्छेहरु बढी आउने गरेका छन्,’ उनले भने, ‘सेल्फ टेस्टका लागि बर्दिया दाङ्घबाट पनि पेसेन्ट आउनुहुन्छ ।’  

बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टरले बीपी चोक युनाइटेड अस्पतालमा पनि नेपालगन्जका सर्वसाधारणका लागि स्वाब कलेक्सन सेन्टर राखेको छ भने दाङ्घको मालिका मेडिकल हल एण्ड प्याथोलोजीलाई पनि स्वाब कलेक्सन सेन्टर तोकिएको छ । सरकारीस्तरमा भेरी अस्पतालमा मात्र कोरोनाको परीक्षण गरिँदै आइएको छ । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully