प्रदेश २ सरकारद्वारा कोरोना नियन्त्रणका लागि थप ७ करोड निकासा

श्रावण १५, २०७७

सन्तोष सिंह

जनकपुरधाम — प्रदेश–२ मा कोरोना महामारी त्रास बढ्न थाले पछि महामारी नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ । 

 

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड अस्पताल निर्माण तथा हाल सञ्चालनमा रहेका आइसोलेसनहरुको थप व्यवस्थापन, बिरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धि आदि कार्यका लागि सात करोड निकासा गरेको हो । 

 

बिहीबारको निर्णय अनुसार बाराको सिमरामा कोभिड अस्पताल निर्माणको लागि १ करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदको लागि १ करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाहीमा आइसोलेशन व्यवस्थापनका लागि ७५/७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाको लागि ५०/५० लाख निकासा गरिएको छ । 

 

आवश्यकताको आधारमा जिल्लाहरुबाट माग भए बमोजिम थप रकम व्यवस्थापन गरिने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

कोरोना भाइरस

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully