वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ का डेढ वर्षीय बालकसहित ११ जना कोरोना मुक्त भई सोमबार वीरगन्जको नारायणी अस्थाई कोभिड अस्प्तालबाट डिस्चार्ज भएका छन् । डेढ वर्षीय बालकका तीन वर्षीय दाई र ३० वर्षीय आमा पनि कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।
सखुवाप्रसौनी गाउँपालिकाको क्वारेन्टाइनमा ज्वरो आएपछि स्वास्थ्यकर्मीले ती बालकलाई वीरगन्ज रिफर गरेका थिए । ‘ज्वरोको उपचारसँगै बालक, उनको दाई र आमाको थ्रोट स्वाब परीक्षण गर्दा तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो,’ नारायणी अस्थाई कोभिड अस्पतलाका कोर्डिनेटर डा. उदयनारायण सिंह भन्छन्, ‘ती बालकका बुवामा पहिले नै कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।’ भारतको मुम्बईबाट फर्किएर उनीहरु गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका थिए ।
डा. सिंहका अनुसार पर्साको सखुवाप्रसौनाका ३ जना र जगरनाथपुर गाउँपालिकाका ८ जना निको भएर डिस्चार्ज भएका हुन् ।
जगरनाथपुर गाउँपालिकाका २० देखि ५५ वर्ष उमेर समूहका ८ जना वडा नम्बर ६ का बासिन्दा हुन् । पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि ११ जनालाई डिस्चार्ज गरिएको कोभिड अस्पतालका कोर्डिनेटर डा. सिंहले जानकारी दिए ।
भारतबाट फर्किएर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । सखुवाप्रसौनीका ३ जनामा जेठ २५ र जगरनाथपुर गाउँपालिकाका ८ जनामा जेठ २६ मा नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनीहरुलाई अस्थाई कोरोना अस्पतलामा राखिएको थियो ।
अस्थाई कोरोना अस्पतालमा हाल ६ महिला र २६ गरि पर्साका ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
