महिला मात्र भएका केन्द्रमा निर्वाचन प्रहरी र सुरक्षाकर्मी पनि महिला नै राखिएको छ । यस्ता केन्द्रमा ६ महिला कर्मचारी खटाइएको छ ।
पाल्पा — बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पाका ७ मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि कर्मचारीसम्म महिलामात्रै खटाइएको छ ।
पाल्पा–२ स्थित तानसेन नगरपालिका वडा नम्बर ३ को बालमन्दिर आधारभूत विद्यालय ‘क’ केन्द्र, वडा ४ को त्रिभुवन बहुमुखी क्याम्पस ‘ख’ केन्द्र, अस्थायी मतदान केन्द्र कारागार कार्यालय, अस्थायी मतदान केन्द्र टुँडिखेललाई महिलामैत्री बनाएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले जानकारी दिएका छन् ।
महिलामैत्री केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी समेत महिला छन् । बालमन्दिर ‘क’ मा जिल्ला प्रशासन कार्यालयकी अधिकृत रमा श्रेष्ठ, त्रिभुवन बहुमुखी क्याम्पस ‘ख’ मा तानसेन नगरपालिका शिक्षा शाखा प्रमुख कोपिला न्यौपाने मतदान अधिकृतका रुवमा खटिएका छन् । कारागार अस्थायी मतदान केन्द्रमा पाल्पा जिल्ला अदालतकी नायब सुब्बा अम्बिका पाठक, टुँडिखेल अस्थायी मतदान केन्द्रमा त्रिभुवन मावि अर्गलीकी मावि शिक्षक लक्ष्मी भण्डारी मतदान अधिकृत खटिएका हुन् ।
महिलाले मात्रै काम गर्न सक्छन् भन्ने विश्वासका साथ पाल्पा–२ का ४ केन्द्रमा महिलामात्रै खटाइएको उनले बताए । ती केन्द्रलाई नमुना मतदान केन्द्रका रुपमा लिइएको छ ।
पाल्पा-१ अन्तर्गत रामपुर नगरपालिका–७ स्थित आधारभुत मावि डुम्रीगाउँ ‘ख’ मा रम्भा माविकी मावि शिक्षक मञ्जु कोइराला मतदान अधिकृत छन् । रम्भा गाउँपालिका–१, हुँगीस्थित जनकल्याण मावि हुँगी ‘ख’ केन्द्रमा भानुभक्त मावि रामपुर नगरपालिका–१० की मावि शिक्षक कविता पन्तका साथै तानसेन नगरपालिका–८ मदनपोखरास्थित शारदा मावि ‘ग’ केन्द्रमा सिद्धी मावि आर्यभन्ज्याङ्गकी मावि शिक्षक ममता ज्ञवाली रहेको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।
महिला मात्र भएका केन्द्रलाई नमुना मतदान केन्द्रका रुपमा लिइएको उनले बताए । महिला मात्र भएका केन्द्रमा निर्वाचन प्रहरी र सुरक्षाकर्मी पनि महिला नै राखिएको छ । यस्ता केन्द्रमा ६ महिला कर्मचारी खटाइएको छ ।
जिल्लामा १ सय १८ मतदान केन्द्रमा २ सय ५१ मतदान केन्द्र छन् । पाल्पामा २ लाख ७ हजार ४ सय ३६ जना मतदाता छन् । टुँडिखेल र कारागारमा दुई अस्थायी मतदान केन्द्र छन् । दुई अस्थायी मतदान केन्द्रअन्तर्गत ६९ जना कारागारमा र १ हजार ८५४ जना टुँडिखेलअन्तर्गत मतदाता रहेका छन् ।
