पाल्पा — तीन दिनदेखिको अविरल वर्षाले दर्जनभन्दा बढी स्थानमा खसेको पहिरो पन्छाएपछि सिद्धार्थ राजमार्गको पाल्पा खण्ड आइतबार बिहानदेखि एकतर्फी सञ्चालनमा आएको छ ।
शुक्रबारदेखि राजमार्गको पाल्पा खण्डअन्तर्गत सिद्धबाबा, झुम्सा, हिउँदेखोला, केराबारी, डुम्रे, बर्तुङ, धैरेनी, अगाहाखोला, पिपलडाँडा लगायत दर्जन बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुने र खुल्ने भइरहेको थियो ।
सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमका अनुसार उत्तर-दक्षिण जोड्ने सिद्धार्थ राजमार्ग शुक्रबार दिउँसोदेखि पटक-पटक अवरुद्ध हुने र खुल्ने क्रम चलेको थियो । जसले गर्दा सयौं यात्रु र सवारी साधन सडमकै लामो समय अलपत्र परेका थिए । सूचना अधिकारी गौतमका अनुसार शनिबार मध्यरातमा अँगाहाखोलामा पहिरो पन्छाएपछि राजमार्गमा अलपत्र परेका यात्रु र सवारी साधनलाई गन्तव्यमा पठाउन सकिएको छ । यो राजमार्गले लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्छ ।
आइतबार बिहानदेखि सिद्धार्थ राजमार्गको बुटवलदेखि स्याङजासम्मको सिमानासम्म एकतर्फि सवारी साधन सञ्चालनमा छ । शुक्रबार अपरान्हदेखि अवरुद्ध भएर शनिबार बिहान सञ्चालनमा आएको राजमार्ग पुनः दिउँसो अवरुद्ध हुँदा सयौं यात्रुले सास्ती खेप्नु परेको थियो । ।
सूचना अधिकारी गौतमका अनुसार नयाँ नयाँ स्थानमा पहिरो खसेको छ । केराबारी, अगाहाखोला लगायतका स्थानमा खसेका पहिरो विगतमा कुनै संकेत नै थिएन । रम्भा गाउँपालिका–३, पिपलडाँडाको अगाहाखोलामा खसेको पहिरो बस्तीलाईसमेत असर पुगेको छ । यहाँका झण्डै १५ घरमा पहिरोको लेदो पसेको छ । वडाध्यक्ष थमनबहादुर गाहाका अनुसार सडकको माथिल्लो भागबाट ठूला ढुंगासहितको पहिरोले केही घरमा भेल र लेदो पसेको हो ।
शनिबार दिउँसो २ बजेतिर पहिरो खसेको थियो । राती १२ बजे मात्र एकतर्फी साना सवारी साधनलाई गन्तव्यमा पठाइएको वडाध्यक्ष गाहाले बताए । पहिरो पन्छाउन ढिलाइ हुँदा यात्रुले सास्ती खेप्नु परेको थियो । स्याङजातर्फबाट बुटवल, भैरहवा जाने सवारी सवारी साधन चार किलोमिटर बढी लाइन लागेको थियो । यस्तै बुटवल, भैरहवाबाट स्याङजा, पोखरा जाने सवारी साधन तीन किलोमिटर बढी लामो लाइनमा थिए ।
सडक डिभिजनसँग भएका उपकरण कमजोर देखिएको छ । दुई वटा लोडर, एक एक्स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने प्रयास गरे पनि निकै ढिलाइ भएको छ । यात्रुहरूले केराबारीमा खसेको पहिरोमा सुरुङमार्ग आयोजनाको चाइना स्टेट कम्पनीको उपकरण नआएको भए लामो समय दुःख पाउनुपर्ने अवस्था रहेको गुनासो गरेका छन् ।
सिद्धार्थ राजमार्ग भएर पाल्पा लगायत स्याङ्जा, पोखरा, पर्वत, गुल्मी, अर्घाखाँची, बागलुङ, मुस्ताङसम्मका यात्रुहरू दैनिक ५ हजारभन्दा बढी सवारी साधनमा ओहोरदोहोर गर्छन् ।
