हेटौंडा — हेटौंडाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने छोटो दूरीका सडक र त्रिभुवन राजपथ र कान्तिलोकपथ बाढीपहिरोले अवरुद्ध भएका छन् । शनिबार बिहानदेखि नै हेटौंडा—काठमाडौं आउजाउ ठप्प छ । त्रिभुवन राजपथको हेटौंडादेखि थाहा नगरपालिकासम्म राजमार्ग खुला छ, अन्यत्र अवरोध नै छ ।
हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीका भीमफेदी—कुलेखानी—फाखेल, कुलेखानी—सिस्नेरी—दक्षिणकाली सडकका विभिन्न भागमा पहिरो गएको छ । साथै कुलेखानी ड्याममुनिको पुल पनि बगाएको छ ।
यसैगरी कान्तिलोकपथ विभिन्न भागमा पहिरो जानुको साथै वाग्मती पुलको एक भाग बगाएकाले आउजाउ ठप्प छ । बगुवामा रहेको पुलको मकवानपुरतर्फको भाग वाग्मती खोलाले बगाएको छ । सडकको अवरोध हटाउने कार्य बिहानदेखि सुरु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।
