नवलपरासी पूर्व — ४ दिनदेखिको झरीले बाढीको तह बढेको गण्डकमा आइतबार बिहानदेखि पानीको सतह ह्वात्तै घटेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान गण्डकमा पानीको सतह घटेर ४ लाख २५ हजार क्यूसेक पानी रहेको छ । त्यहाँ शनिबार राति ११ बजे पानीको सतह बढेर ५ लाख ६२ हजार ५ सय क्यूसेक पुगेको थियो ।
गण्डकी प्रदेशको अधिकांश स्थानमा आइतबार वर्षा रोकिएका कारण गण्डकमा पानीको सतह घटेको हो । देवघाटस्थित जलमापन केन्द्रका अनुसार आइतबार बिहान देवघाटमा पानीको सतह ६ दशमलव ६५ मिटर रहेको छ । यो तह चेतावनी तहभन्दा तल हो ।
