चार मन्त्री चुनावी मैदानमा

मंसिर १, २०७९

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुका तीन निर्वाचन क्षेत्रमा संघीय मन्त्री भइसकेका चार जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाको क्षेत्र नं. १ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका चक्रपाणी खनाल उम्मेदवार छन् । एमालेबाट बलराम अधिकारी र राप्रपाबाट ध्रुव रायमाझी उम्मेदबार छन् । जनमत पार्टीबाट नरेन्द्रकुमार चौधरी पनि उम्मेदवार बनेका छन् । गठबन्धनका खनाल पार्टीका सचिव र पूर्वमन्त्री हुन् । एमालेका उम्मेदवार अधिकारी पार्टी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य हुन् । राप्रपाका रायमाझी पार्टी केन्द्रीय सदस्य हुन् । जनमतका चौधरी पार्टीका राष्ट्रिय उपाध्यक्ष हुन् ।

अहिलेको निर्वाचनमा कांग्रेससँग गठबन्धन रहेको र पार्टीको राम्रो प्रभाव रहेकाले आफूले जित्ने निश्चित भएको उम्मेदवार खनालले बताए । एमालेले भने पाका र लोकप्रिय उम्मेदवार उठेको र पार्टीको राम्रो जनाधार भएकाले जित निश्चित रहेको बताइरहेको छ । राप्रपाले भने गठबन्धनका दुवै उम्मेदवार अघिल्लो चुनावमा सँगै रहेको र अहिले फरक फरक भएर जनता भुलाउन आएको आरोप लगाउँदै आएको छ । उनीहरूप्रति जनताको विश्वास नभएको र पार्टीको लोकप्रियता बढेकाले आफ्नो जित निश्चित भएको उम्मेदवार रायमाझी बताउँछन् । यो क्षेत्रमा पार्टीका १७ र स्वतन्त्र ५ जनाले उम्मेदवारी दिएका छन् । 

क्षेत्र नं. २ मा सदरमुकाम तौलिहवासमेत हुँदा यहाँको चासो जिल्लाभरि नै छ । वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका सुरेन्द्रराज आचार्य उम्मेदवार बनेका छन् । एमालेबाट बृजेशकुमार गुप्ता र लोकतान्त्रिक समाजवादी पार्टीबाट अकबाल अहमद शाह उम्मेदवार छन् । तीनै जना केन्द्रीय राजनीतिमा पहुँच भएका उम्मेदवार हुन् । कांग्रेसका आचार्य पूर्वसिँचाइ राज्यमन्त्री हुन् भने अहिले कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री हुन् । एमालेका उम्मेदवार गुप्ता पूर्वकानुन मन्त्री हुन् भने पार्टी केन्द्रीय सदस्य हुन् । लोसपाका उम्मेदवार शाह पूर्वकृषि मन्त्री हुन् । यो क्षेत्रमा पार्टीका ६ जना र स्वतन्त्र ५ जनाले उम्मेदवारी दिएका छन् । 

क्षेत्र नं. ३ मा युवादेखि पाका उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका अभिषेकप्रताप शाह, एमालेबाट मंगलप्रसाद गुप्ता र जनता प्रगतिशील पार्टीबाट ईश्वरदयाल मिश्र उम्मेदवार बनेका छन् । कांग्रेसका शाह सांसदमा लगातार तीन पटक विजयी हुँदै आएका छन् ।

आमनिर्वाचन २०७९

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully