बुटवल — रूपन्देही–१ मा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल र एमालेका छविलाल विश्वकर्माबीचको प्रतिस्पर्धाले धेरैको ध्यान तानेको छ । पूर्वसहयात्रीबीच प्रतिष्ठाको लडाइँमा कसले बाजी मार्ला ? चासो बनेको छ ।
भुसाललाई पाँच दलीय गठबन्धनले समर्थन गरेको छ । उनी पहिलोपटक आफ्नो घर रहेको क्षेत्रबाट प्रतिस्पर्धामा छन् । भुसाल र विश्वकर्मा लामो समयदेखिका राजनीतिक सहयात्री हुन् । उनीहरू प्रतिस्पर्धामा उत्रिएपछि रूपन्देही–१ को माहोल तातिएको छ । राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिकामा रहेका दुई नेता फरक गठबन्धनबाट आफ्नो पक्षमा मतदाता पार्न रस्साकसी गरिरहेका छन् । विश्वकर्मा जसरी हुन्छ विरासत जोगाउने र भुसाल भत्काउने दाउमा छन् । विश्वकर्मालाई राप्रपा र जसपाको समर्थन छ । भुसाललाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र डा. बाबुराम भट्टराईको नेपाल समाजवादीको समर्थन छ ।
मनोनयनपूर्व पार्टीका स्थानीय कमिटीले विश्वकर्मा र भुसाललाई यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेका थिए । तर, प्रदेश कमिटीमा पुगेपछि भुसालको नाम सिफारिसबाट हरायो । पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विश्वकर्मा एकल सिफारिस भए । केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्यो । भुसाल क्षेत्र नम्बर–३ बाट समेत सिफारिस भएका थिए । चुनावी तालमेलमा एमालेले क्षेत्र नं. ३ राप्रपालाई छोड्ने निर्णय गर्यो । पार्टीबाट टिकट नपाएपछि भुसालले पार्टी त्यागको घोषणा गरेर आफ्नै सहयात्रीसँग प्रतिस्पर्धामा उत्रिएका हुन् । ‘चुनावी प्रतिस्पर्धामा पूर्वसहकर्मी र सहयात्रीले कुनै अर्थ राख्दैन,’ भुसालले कान्तिपुरसित भने, ‘म सत्ता गठबन्धनले समर्थन गरेको स्वतन्त्र वाम उम्मेदवार हुँ ।’
अहिले भुसाल विशेष परिस्थितिका कारण दलीय प्रतिनिधि हुन नपाएपछि स्वतन्त्र उठेको मतदातालाई बुझाउँदै मत मागिरहेका छन् । संविधानको रक्षा र लोकतन्त्र संस्थागत गर्न आफू उम्मेदवार बनेको उनी बताउँछन् । संविधान मास्ने शक्तिविरुद्ध गठबन्धनको साथ पाएकाले जित हासिल गर्ने उनले बताए । विश्वकर्मा लोकतन्त्रमा दलीय प्रतिस्पर्धा हुने र हारजितको सामना गर्न सक्नुपर्ने बताउँछन् । ‘मेरो क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र, लोसपालगायतका उम्मेदवार हुनुहुन्न,’ उनले भने, ‘त्यसैले म एमाले र हामीलाई समर्थन गर्ने राप्रपा, जसपाको मात्र होइन, सिंगो दलीय व्यवस्थाको साझा उम्मेदवार हुँ ।’ लोकतन्त्रमा दलको विकल्प दल हुन सक्ने तर निर्दलीयता नहुने उनले बताए । ‘स्वतन्त्र भनेको निर्दलीयता हो । जनताले निर्दलीयता चाहेका होइनन्,’ उनले भने ।
विश्वकर्मा तेस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन् । कतिपय ठूला योजना ल्याएर जनमत बनाएका छन् । अघिल्लो कार्यकालमा आफूले गरेका विकास उनका लागि तटस्थ मत माग्ने बलियो आधार बनेको छ । २०७४ मा विश्वकर्माले नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गरेका थिए । विश्वकर्माले ३४ हजार ७ सय ५२ मत ल्याएर निर्वाचित हुँदा रज्जाकले २६ हजार ८ सय ८५ मत पाएका थिए । त्यसबेला भने विश्वकर्मालाई माओवादी केन्द्रको साथ थियो । २०७० मा भने रज्जाकले विश्वकर्मालाई नै हराएका थिए । संघीय सरकारमा मन्त्री बनिसकेका रज्जाक अहिले प्रदेशसभाका उम्मेदवार छन् । यद्यपि, तत्कालीन माओवादी नेता दधिराम न्यौपाने एमालेमै रहेर अहिले प्रदेशसभा उम्मेदार भएका छन् । सांगठनिक जनाधार बलियो रहेको, राप्रपा र जसपाको मत पनि राम्रो रहेकाले आफूले जित्ने प्रसस्त आधार रहेको विश्वकर्माको दाबी छ । ‘यसै त हाम्रो जनमत राम्रो छ । त्यसमाथि यो भूमिमा जति पसिना बगाइएको छ, विकासका जग खनिएको छ,’ उनले भने, ‘त्यसको आधारमा हाम्रो जित्ने आधार बनेको छ ।’
रूपन्देही १ भुसालले पार्टीको संगठन विस्तार गरेको क्षेत्र हो । ‘यसपालि मैले संगठित गरेका एमालेका सदस्यसित सम्बन्ध नवीकरणको अवसर मिलेको छ,’ भुसालले भने, ‘न्यानो सद्भाव पाइरहेको छु ।’ २०७४ सालमा रूपन्देही–३ बाट सांसद भएका भुसालले अहिले क्षेत्र नं. १ का मतदाताबीच आफूलाई चिनाउँदै संविधान रक्षाका लागि आफूले खेलेको भूमिकाबारे बताइरहेका छन् । एमालेबाट विद्रोह गरी देवदह नगरपालिकाका टीकाराम चापागाईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले पनि छविलालकै भोट काट्ने निश्चित छ । एमालेभित्र छविलाल विरोधी समूह पनि छ । त्यसले साथ दिनेमा भुसाल आशावादी छन् । ‘मेरो विचार, सिद्धान्त, आचरण, पार्टीबाट भोगेको अवहेलना सबै हेरेर एमालेभित्रकै मतदाताले मलाई भोट हाल्छन्,’ उनले भने, ‘चुनाव चिन्ह त्रिभुज भएका कारण मात्र मतदातालाई बुझाउन केही मिहिनेत गर्नुपरेको छ ।’
स्थानीय तहको मतका आधारमा भुसाललाई चुनाव जित्न कठिन हुने देखिन्छ । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाध्यक्षको मतका आधारमा एमाले, राप्रपा र जसपाको मत ५१ हजार ६ सय ४५ थियो । कांग्रेस, लोसपा, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले ३८ हजार ३ सय १ मत ल्याएका थिए । मतभारका हिसाबले विश्वकर्मा बलिया छन् । रूपन्देही १ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाका ७ देखि १७ र ओमसतिया गाउँपालिकाका वडा नम्बर १ देखि ६ सम्म रहेका छन् । सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको यो क्षेत्रमा भुसाललाई समर्थन गरेपछि माओवादीभित्रै पनि असन्तुष्टि छ । यद्यपि, भुसाल गठबन्धनमा कुनै समस्या नरहेको, स्थानीय तहको मतभन्दा अहिले धेरै फरक लहर आएको र आफ्नो जनमत बढेको दाबी गर्छन् ।
