'मुख्यमन्त्रीका सनसनीपूर्ण प्रकरण छन्, अडियो र भिडियो सार्वजनिक गर्नेछु ।'
पोखरा — गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्रीबाट बर्खास्तीमा परेका कुमार खड्काले आफूलाई किन बर्खास्त गरियो भन्ने थाहा नभएको बताएका छन् । बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै खड्काले मन्त्रीबाट बर्खास्त भएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताए ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई फोन गरेर सोधेपछि मात्रै आफू बर्खास्तीमा परेकोबारे आफू निश्चित भएको उनको भनाइ छ । उनले पत्रकार सम्मेलनमा भने, 'म मन्त्री पदबाट बर्खास्त भएको मिडियाबाट थाहा पाएँ तर मैले के अपराध गरेँ भन्ने अझै थाहा पाएको छैन । मुख्यमन्त्रीज्यूलाई बुझ्न फोन गर्दा उहाँको फोन उठेन । प्रदेश प्रमुखलाई फोन गरेर बुझेपछि मात्रै थाहा भएको हो ।'
कांग्रेस सहमहामन्त्री जीवन परियार विन्दुकुमार थापाले गुनासो गरेको भन्दै आफूलाई भेट्न आएको खड्काको भनाइ छ । थापा कास्की निर्वाचन क्षेत्र नम्बर २(२) बाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । आफूले बहालवाला मन्त्री भएकाले चुनावी प्रचारप्रसार गर्न नमिल्ने जवाफ दिएको उनले बताए । उनले भने, 'म बहालवाला मन्त्री निर्वाचन आचारसंहिताले दिँदैन भनेँ । विन्दुकोमा मात्रै होइन असाध्यै मिल्ने साथीकोमा पनि गइनँ ।' त्यस्तै खड्काले आफू अखण्ड नेपाल पार्टीमा रहँदा पनि कांग्रेसले धेरै अवसर दिएको बताए ।
उनले अगाडि भने, 'मर्ने बेलामा चारतारे झण्डा ओढेर मर्ने रहर छ । जतिसुकै अन्याय भए पनि पार्टी छाड्ने छैन । कांग्रेस नेताप्रति चित्त दुखाउने पर्ने कारण छैन ।' मन्त्रीबाट बर्खास्त भएपछि आफूलाई आचारसंहिताले पनि नरोक्ने उनको भनाइ छ । उनले भने, 'हिजो आचारसंहिता लाग्थ्यो अब लाग्दैन । अब गठबन्धनको पक्षमा भोट माग्न र जिताउन लागि पर्छु । चुनाव प्रचारमा लाग्नेछु । टिकट पाउँदासम्म प्रतिस्पर्धा हो । विन्दुजीसँग अब त सकियो प्रतिस्पर्धा ।'
मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग पछिल्लो समय सम्बन्ध चिसिएको खड्काले स्वीकार गरेका छन् । क्याबिनेटमा मुख्यमन्त्रीसँग मत बाझिने कुरा सानो नभएको उनको भनाइ छ । मुख्यमन्त्रीका पनि सनसनीपूर्ण प्रकरण रहेको र त्यो समय आएपछि सार्वजनिक गर्ने उनले बताए । उनले अगाडि भनेका छन्, 'मुख्यमन्त्रीसँग पनि पछिल्लो समय सम्बन्धमा चिसो आएको सत्य हो । क्याबिनेटमा मुख्यमन्त्रीसँग मत बिझाउने भनेको सानो कुरा होइन । गाडी खरिद गर्ने प्रक्रियामा छ यसमा असहमति थिए । यो पनि पद बर्खास्तीको कारण,हो कि ? मुख्यमन्त्रीका सनसनी छन्, अडियो र भिडियो सार्वजनिक गर्नेछु । मलाई आपराधिक तरिकाले निकालियो यसका कारण बताउन पर्यो।'
आफूले मन्त्री हुँदा कार्यालयलाई डिजिटलाइज गर्ने काम गरेको पनि उनले बताए । त्यस्तै जनतालाई राहत हुने गरी भाडा समायोजनसमेत गरेको उनको दाबी छ ।
